खेतमै पुगेर मकै किन्दै उपभोक्ता, सहकारीको व्यापार चम्कियो

1.8k Shares

अछाम । साँफेबगरस्थित हातेमालो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले व्यावसायिक मकै खेतीमार्फत उल्लेखनीय आम्दानी गर्न सफल भएको छ। सहकारीले २० रोपनी क्षेत्रफलमा लगाएको हरियो मकैको उत्पादन राम्रो भएपछि स्थानीय बजारमा यसको माग समेत बढेको छ।

सहकारीले उत्पादन गरेको ताजा मकै खरिद गर्न उपभोक्ता खेतसम्म पुग्ने गरेका छन्। हालसम्म करिब ४१ हजार रुपैयाँ बराबरको मकै बिक्री भइसकेको छ भने अझै बिक्री जारी रहेको सहकारीले जनाएको छ।

सहकारीका अध्यक्ष सुरत भुलका अनुसार कृषि उत्पादन वृद्धि, रोजगारी सिर्जना तथा किसानलाई व्यावसायिक खेतीतर्फ आकर्षित गर्ने उद्देश्यले मकै खेती सुरु गरिएको हो। आधुनिक कृषि प्रविधिको प्रयोगले उत्पादनमा सकारात्मक परिणाम देखिएको उहाँको भनाइ छ।

प्रबन्ध निर्देशक महेश्वरी बुढाथापाले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै गुणस्तरीय मकै उपभोक्तासम्म सुलभ मूल्यमा पुर्‍याइएको बताउनुभयो। उहाँले स्वदेशी उत्पादनको प्रयोग बढ्दा किसान र उपभोक्ता दुवै लाभान्वित हुने धारणा व्यक्त गर्नुभयो।

मकै खेतीसँगै सहकारीले तरकारी खेती र भैंसीपालन व्यवसाय पनि सञ्चालन गर्दै आएको छ। यी गतिविधिले स्थानीयस्तरमा रोजगारी सिर्जना गर्नुका साथै आर्थिक गतिविधि विस्तारमा योगदान पुर्‍याइरहेका छन्।

स्थानीय उत्पादनप्रति बढ्दो आकर्षणका कारण आसपासका किसानहरू पनि व्यावसायिक कृषितर्फ आकर्षित हुन थालेका छन्। उत्पादनमुखी कार्यक्रम र कृषि नवप्रयोगका कारण हातेमालो सहकारी अछाममा नमुना सहकारीका रूपमा परिचित बन्दै गएको छ।

सम्बन्धित समाचार