कैलाली । कैलालीमा च्याउ टिप्न सामुदायिक वनमा गएका एक पुरुषको बाघको आक्रमणबाट मृत्यु भएको छ। गौरीगंगा नगरपालिका–६ मोया क्षेत्रमा रहेको भैरव महिला सामुदायिक वनमा च्याउ टिप्न गएका स्थानीय ३८ वर्षीय कृष्ण चौधरीलाई शुक्रबार बिहान बाघले आक्रमण गरेको हो।
चरीडाँडा निवासी चौधरी बिहान करिब ५ बजे च्याउ टिप्न वनमा पुगेका थिए। च्याउ टिप्ने क्रममा बाघले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ।
घटनाबारे बिहान ८ः०५ बजे इलाका प्रहरी कार्यालय चौमालामा जानकारी पुगेको थियो। त्यसपछि प्रहरी वरिष्ठ नायब निरीक्षक रमेशबहादुर शाहीको कमाण्डमा चार जनाको प्रहरी टोली घटनास्थलतर्फ पठाइएको थियो।
प्रहरी टोलीले घटनास्थलमा पुगेर घटनाबारे थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइरहेको जनाएको छ।
जंगलमा च्याउ तथा अन्य वनजन्य वस्तु संकलन गर्न जाने स्थानीय बासिन्दालाई वन क्षेत्रमा जंगली जनावरको जोखिम रहने भएकाले सावधानी अपनाउनुपर्ने देखिएको छ।