तिहारमा यात्रुको सहजताका लागि काभ्रेमा पाँच दिन टिपर चलाउन प्रतिबन्ध

743 Shares

काभ्रे । तिहार पर्वलाई लक्षित गर्दै काभ्रेपलाञ्चोक जिल्लाभित्रका मुख्य तथा सहायक सडकमा टिपर सञ्चालनमा रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले चाडपर्वका समयमा सडकमा सवारीसाधनको चाप बढ्ने र दुर्घटनाको जोखिमसमेत रहने भएकाले टिपर सञ्चालनमा प्रतिबन्ध लगाएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी महेन्द्र विश्वकर्माका अनुसार जिल्ला सुरक्षा समितिको कात्तिक १९ गते बसेको बैठकको निर्णयअनुसार कात्तिक २२ गते बिहान ५ बजेदेखि कात्तिक २६ गते बेलुका ९ बजेसम्म टिपर सञ्चालन गर्न पाइने छैन ।

उक्त प्रतिबन्ध बीपी राजमार्ग, अरनिको राजमार्गलगायत जिल्लाभित्रका मुख्य तथा सहायक सडकमा लागू हुनेछ ।

तिहारका बेला यात्रुवाहक सवारीसाधनको आवागमन सहज बनाउने, सडकमा हुने भीडभाड कम गर्ने तथा सम्भावित सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले यस्तो निर्णय गरिएको प्रशासनले जनाएको छ ।

चाडपर्वको समयमा यात्रुको आवागमन सुरक्षित र व्यवस्थित बनाउन प्रशासनले यो व्यवस्था लागू गरेको हो ।

सम्बन्धित समाचार