कञ्चनपुर । दसैँ–तिहार मनाउन भारतबाट स्वदेश फर्किने नेपालीको चाप बढेसँगै कञ्चनपुरको गड्डाचौकी नाकामा स्वास्थ्य परीक्षण र सुरक्षा निगरानीलाई तीव्र पारिएको छ। चाडपर्वका बेला सीमा नाकाबाट विभिन्न सङ्क्रामक रोग भित्रिन सक्ने जोखिमलाई ध्यानमा राख्दै यात्रुको स्वास्थ्य परीक्षण भइरहेको हो।
सीमा नाकामा स्थापना गरिएको हेल्थ डेस्कमार्फत मलेरिया, क्षयरोग, एचआईभी, कोभिड–१९, डेङ्गु र स्क्रब टाइफस गरी छ प्रकारका रोगको परीक्षण भइरहेको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ।
जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत सिद्धराज भट्टका अनुसार भारतबाट फर्किने नागरिकमा हुन सक्ने सङ्क्रामक रोगको पहिचान गरी समयमै उपचार उपलब्ध गराउने र सङ्क्रमण फैलिन नदिने उद्देश्यले नाकामै स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको हो।
“सङ्क्रमण देखिए अस्पतालमा ल्याएर निःशुल्क उपचार गरिन्छ,” भट्टले भने, “टाढाको मानिसका लागि सम्बन्धित जिल्लाको अस्पतालमा खबर गरेर उपचारको व्यवस्था मिलाइन्छ।”
स्वास्थ्य कार्यालयका अनुसार भारतमा मलेरिया, डेङ्गुलगायतका सङ्क्रामक रोग बढी फैलिएका क्षेत्रबाट आएका यात्रु तथा ज्वरो आएका व्यक्तिलाई प्राथमिकतामा राखेर परीक्षण गर्ने गरिएको छ।
असोज महिनामा मात्रै गड्डाचौकी नाकामा चार हजार सात सय जनाको स्वास्थ्य परीक्षण गरिएको छ। परीक्षणका क्रममा अहिलेसम्म दुई जनामा क्षयरोग (टीबी) पोजेटिभ देखिएको छ भने अन्यमा सङ्क्रमण पुष्टि नभएको स्वास्थ्य कार्यालयले जनाएको छ।
रोजगारीका लागि भारतका विभिन्न सहरमा गएका नेपाली दसैँ–तिहार मनाउन घर फर्किन थालेपछि गड्डाचौकी नाकामा यात्रुको चाप बढेको छ। प्रहरीको तथ्याङ्कअनुसार अहिले उक्त नाका हुँदै दैनिक करिब दुई हजार मानिस नेपाल फर्किरहेका छन्।
यात्रुको चाप बढेसँगै सम्भावित स्वास्थ्य जोखिमका साथै यात्राको क्रममा हुन सक्ने असहजता र आपराधिक गतिविधि नियन्त्रण गर्न सुरक्षा निकायले पनि निगरानी बढाएका छन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले यात्रुको सहजता र सुरक्षालाई ध्यानमा राख्दै सीमावर्ती क्षेत्रसहित जिल्लाका विभिन्न स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ।
प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतका अनुसार गड्डाचौकी नाका र महेन्द्रनगर बसपार्कसहित जिल्लाका आठ स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ।
“गड्डाचौकी नाका र महेन्द्रनगर बसपार्क गरी जिल्लाका आठ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेका छौँ,” रावतले भने, “चाडपर्वका बेला हुने आपराधिक क्रियाकलाप न्यूनीकरणका लागि सुरक्षा व्यवस्था चुस्त पारिएको छ।”
चाडपर्व मनाउन स्वदेश फर्किने यात्रुको सङ्ख्या बढिरहेका बेला गड्डाचौकीमा स्वास्थ्य परीक्षण, उपचारको समन्वय र सुरक्षा निगरानीलाई एकसाथ अघि बढाइएको छ। यसबाट सङ्क्रामक रोगको सम्भावित जोखिम पहिचान गर्नुका साथै यात्रुलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुग्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।