कोप–३१ मा नेपालको जलवायु एजेन्डा उठाउन परराष्ट्रमन्त्री खनाल टर्किए प्रस्थान

988 Shares

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा नेपालको प्रतिनिधित्व गर्न परराष्ट्रमन्त्री शिशिर खनाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार टर्किए प्रस्थान गरेका छन् ।

टर्किएको आन्ताल्यामा नोभेम्बर ९ देखि २० सम्म आयोजना हुने सम्मेलनमा मन्त्री खनालले नेपालको जलवायु परिवर्तनसम्बन्धी सरोकार तथा प्राथमिकता अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनालले नोभेम्बर ९ मा सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्नेछन् । त्यसैगरी, नोभेम्बर ११ र १२ मा आयोजना हुने नेताहरूको शिखर सम्मेलनमा समेत सहभागी हुनेछन् ।

सम्मेलनका क्रममा नेपालसहित ताजिकिस्तान, किर्गिस्तान, भुटान र पाकिस्तानको संयुक्त आयोजनामा हुने हिमाली क्षेत्रको जलवायु संकटसम्बन्धी उच्चस्तरीय कार्यक्रममा पनि मन्त्री खनाल सहभागी हुनेछन् ।

उक्त कार्यक्रममा हिमनदी पग्लिने समस्या, क्रायोस्फियरको अवस्था, जलवायु उत्थानशीलता, साझा जिम्मेवारी तथा दिगो वित्तीय व्यवस्थापनका विषयमा छलफल हुनेछ ।

मन्त्री खनालले सम्मेलनका अन्य उच्चस्तरीय तथा साइड इभेन्टमा सहभागिता जनाउनुका साथै विभिन्न देशका समकक्षी मन्त्री तथा विशिष्ट व्यक्तित्वहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको छ ।

नेपाली प्रतिनिधिमण्डलमा कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरी, राष्ट्रिय योजना आयोगका सदस्य प्रा. डा. सञ्जय आचार्य, कृषि, वन तथा वातावरण मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रसहित सरकारी अधिकारीहरू सहभागी छन् ।

परराष्ट्रमन्त्री खनाल आगामी नोभेम्बर १४ मा स्वदेश फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार