दुर्गम मार्मामा पुग्यो एनसेलको फोरजी, स्थानीय र पर्यटकलाई सञ्चार सहज

1.1k Shares

काठमाडौँ । दार्चुलाको दुर्गम हिमाली क्षेत्र मार्मा गाउँपालिकामा एनसेलले नयाँ मोबाइल टावर सञ्चालनमा ल्याउँदै फोरजी सेवा विस्तार गरेको छ। गाउँपालिकाको लट्टिनाथ क्षेत्रलाई लक्षित गरी स्थापना गरिएको टावर सञ्चालनमा आएसँगै स्थानीय बासिन्दा आधुनिक सञ्चार सेवाको पहुँचमा जोडिएका छन्।

भौगोलिक रूपमा विकट रहेको मार्मा क्षेत्रमा सञ्चार सेवा विस्तार गर्ने उद्देश्यले नयाँ टावर स्थापना गरिएको एनसेलले जनाएको छ। फोरजी सेवा सञ्चालनमा आएपछि स्थानीयवासीको दैनिक सञ्चार आवश्यकता पूरा हुनुका साथै इन्टरनेटमा आधारित सेवा प्रयोग गर्नसमेत सहज हुने अपेक्षा गरिएको छ।

नयाँ टावरबाट स्थानीय बासिन्दासँगै अपि हिमाल आरोहण, पदयात्रा तथा अन्य पर्यटकीय गतिविधिका लागि मार्मा क्षेत्र पुग्ने आन्तरिक तथा बाह्य पर्यटकले पनि लाभ लिन सक्ने कम्पनीको भनाइ छ। भरपर्दो मोबाइल तथा इन्टरनेट सेवाले दुर्गम क्षेत्रमा पर्यटन गतिविधि विस्तार गर्न समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

एनसेलकी नेटवर्क प्रमुख लेना केशरी कंसाकारले दुर्गम तथा सुगम दुवै क्षेत्रका नागरिकलाई गुणस्तरीय दूरसञ्चार सेवा उपलब्ध गराउने कम्पनीको प्रतिबद्धताअनुसार मार्मामा सेवा विस्तार गरिएको बताइन्।

एनसेलका अनुसार कम्पनीले देशभर ४ हजार ५ सयभन्दा बढी मोबाइल टावरमार्फत टुजी, थ्रीजी र फोरजी सेवा प्रदान गर्दै आएको छ। मार्मामा सञ्चालनमा ल्याइएको नयाँ टावरबाट भने टुजी र फोरजी प्रविधिमा आधारित सेवा उपलब्ध हुनेछ।

दुर्गम हिमाली क्षेत्रमा सञ्चार पूर्वाधार विस्तार भएपछि स्थानीयको दैनिक जीवनयापन सहज हुनुका साथै शिक्षा, स्वास्थ्य, सूचना आदान–प्रदान र आपत्कालीन अवस्थामा सम्पर्क गर्न समेत सहयोग पुग्नेछ। साथै, सञ्चार पहुँचको विस्तारले मार्मा क्षेत्रको पर्यटन विकास र स्थानीय अर्थतन्त्र चलायमान बनाउन थप टेवा पुग्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार