गेटामा यसै शैक्षिकसत्रदेखि एमबिबिएस कक्षा चलाउने तयारी टुंग्याउन सांसद चन्दको आग्रह

1.1k Shares

सुदूरपश्चिम । प्रतिनिधिसभा सदस्य डा. आनन्दबहादुर चन्दले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय, गेटामा यसै शैक्षिकसत्रदेखि चिकित्सा स्वास्थ्य विज्ञानका कक्षा सञ्चालन गर्ने तयारीलाई निष्कर्षमा पुर्‍याउन आग्रह गर्नुभएको छ।

चिकित्सा शिक्षा आयोगको टोलीले अध्ययन–अध्यापन सञ्चालनको तयारीका क्रममा हालै गेटाको निरीक्षण गरेपछि सांसद चन्दले विश्वविद्यालय सञ्चालनको प्राविधिक तयारी तत्काल टुंग्याएर काम अघि बढाउन आग्रह गर्नुभएको हो।

गेटा विश्वविद्यालय सञ्चालन आम सुदूरपश्चिमवासीको लामो समयदेखिको चाहना भएकाले यसलाई थप अन्योलमा नराख्न उहाँले जोड दिनुभएको छ। विश्वविद्यालयका विभाग, शिक्षण अस्पताल, प्रयोगशाला तथा अन्य शैक्षिक पूर्वाधारबारे प्रश्न र टिप्पणी सार्वजनिक भइरहेकाले त्यसलाई विरोधका रूपमा मात्र नलिई तथ्य, प्रमाण र स्पष्ट कार्ययोजनासहित सम्बोधन गर्नुपर्ने उहाँको भनाइ छ।

सांसद चन्दले गेटा सुदूरपश्चिमको दशकौँदेखिको सपना, राज्यको ठूलो लगानी तथा भावी पुस्ताको स्वास्थ्य शिक्षासँग जोडिएको राष्ट्रिय महत्वको संस्था भएकाले यसको सुरुआत नै गुणस्तर, पारदर्शिता र जनविश्वासका आधारमा हुनुपर्ने बताउनुभएको छ।

उहाँले विश्वविद्यालय प्रशासनले स्पष्ट समयसीमासहित प्रत्येक विभागमा आवश्यक जनशक्ति र नियुक्तिको अवस्था, शिक्षण अस्पतालमा उपलब्ध विशेषज्ञ सेवा तथा बिरामीको अवस्था, विद्यार्थीले पाउने क्लिनिकल एक्स्पोजर, प्रयोगशाला, उपकरण, पुस्तकालय, छात्रावास तथा अनुसन्धान पूर्वाधारबारे सार्वजनिक जानकारी दिनुपर्ने सुझाव दिनुभएको छ।

त्यस्तै, अन्य अस्पतालसँग सहकार्य गरिएको भए त्यसको कानुनी तथा शैक्षिक स्वरूप स्पष्ट गर्न र हाल सञ्चालनमा रहेको अस्पताललाई पूर्ण क्षमताको शिक्षण अस्पतालका रूपमा विस्तार गर्ने समयसीमा सार्वजनिक गर्न उहाँले आग्रह गर्नुभएको छ।

सांसद चन्दले विश्वविद्यालयले तत्काल १५ दिनदेखि एक वर्षसम्मको समयबद्ध कार्ययोजना सार्वजनिक गर्नुपर्ने प्रस्ताव गर्नुभएको छ। उहाँका अनुसार १५ दिनभित्र विभाग, अस्पताल सेवा, प्रयोगशाला, उपकरण तथा उपलब्ध पूर्वाधारको तथ्यगत विवरण सार्वजनिक गर्नुपर्छ।

एक महिनाभित्र विभागगत जनशक्ति, खरिद प्रक्रिया र शैक्षिक पूर्वाधारमा रहेका कमी पहिचान गरी कार्ययोजना सार्वजनिक गर्न तथा तीन महिनाभित्र आवश्यक विभागीय सदस्य नियुक्ति, प्रयोगशाला तथा उपकरण व्यवस्थापन र क्लिनिकल शिक्षणको व्यवस्था मिलाउनुपर्ने उहाँको सुझाव छ।

त्यसैगरी, छ महिनाभित्र अस्पताल सेवा, विशेषज्ञ जनशक्ति, रोग निदान तथा परीक्षण क्षमता र क्लिनिकल विभाग विस्तारको पहिलो चरण पूरा गर्नुपर्ने तथा १२ महिनाभित्र विस्तारित शिक्षण अस्पतालको क्षमता, आवश्यक जनशक्ति र प्रमुख शैक्षिक संरचनाको लक्ष्य हासिल गर्न काम अघि बढाउन उहाँले आग्रह गर्नुभएको छ। प्रत्येक तीन महिनामा प्रगति प्रतिवेदन सार्वजनिक गर्नुपर्ने उहाँको प्रस्ताव छ।

“जहाँ भ्रम छ, तथ्य दिऔँ, जहाँ कमजोरी छ, सुधार गरौँ र जहाँ तयारी पूरा भएको छ, प्रमाणसहित जनतालाई जानकारी दिऔँ,” सांसद चन्दले भन्नुभएको छ।

गेटामा एमबिबिएस सञ्चालन स्वास्थ्य शिक्षाको कार्यक्रम सुरु गर्ने विषयमा मात्र सीमित नभई सुदूरपश्चिमको स्वास्थ्य सेवा, रोजगारी, अनुसन्धान, क्षेत्रीय विकास र युवाको भविष्यसँग जोडिएको विषय भएकाले पारदर्शिता, गुणस्तर र साझा जिम्मेवारीका आधारमा अघि बढाउनुपर्ने उहाँको भनाइ छ।

चिकित्सा शिक्षा आयोगको टोलीले गेटाको निरीक्षण गरेपछि विश्वविद्यालय सञ्चालन तथा यसै शैक्षिकसत्रदेखि कक्षा सुरु गर्ने तयारीबारे विभिन्न कोणबाट चर्चा भइरहेको छ।

सम्बन्धित समाचार