विपद् जोखिम न्यूनीकरणमा सबै निकायबीच समन्वय आवश्यक : मुख्यमन्त्री भट्ट

953 Shares

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले विपद् जोखिम न्यूनीकरणका लागि संघीय सरकार, प्रदेश सरकार, स्थानीय तह, सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवाला सबैबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताउनुभएको छ।

सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आयोजना गरेको विपद् जोखिम व्यवस्थापन तथा जलवायु परिवर्तन अनुकूलनसम्बन्धी नीतिगत संवाद कार्यक्रममा बोल्दै मुख्यमन्त्री भट्टले विगतका विपद्बाट पाठ सिकेर आगामी जोखिमका लागि पूर्वतयारी गर्नुपर्नेमा जोड दिनुभयो।

उहाँले विपद् जोखिम न्यूनीकरण प्रदेश सरकारको एक्लो प्रयासबाट सम्भव नहुने भन्दै स्थानीय तह, सुरक्षा निकाय र अन्य सम्बन्धित संस्थासँगको सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्ने बताउनुभयो। जलवायु परिवर्तनका कारण विपद्को जोखिम बढ्दै गएकाले तीनै तहका सरकार र सरोकारवाला निकायबीच समन्वय आवश्यक रहेको उहाँको भनाइ थियो।

मुख्यमन्त्री भट्टका अनुसार सुदूरपश्चिममा पछिल्लो १० वर्षमा प्राकृतिक विपद्का घटनाबाट ५ हजार १९५ जनाको मृत्यु, ५१७ जना बेपत्ता र १५ हजार ७५१ जना घाइते भएका छन्। सो अवधिमा २ लाख २ हजारभन्दा बढी परिवार प्रभावित हुनुका साथै ३२ अर्ब ५५ करोड रुपैयाँभन्दा बढीको आर्थिक क्षति भएको तथ्यांक उहाँले प्रस्तुत गर्नुभयो।

उहाँले विपद् आउनुअघि नै जोखिम पहिचान, पूर्वसूचना प्रणालीको प्रभावकारी प्रयोग, आवश्यक स्रोत–साधनको व्यवस्थापन तथा उद्धार र राहतका संयन्त्रलाई तयारी अवस्थामा राख्नुपर्ने बताउनुभयो।

प्रदेश सरकारले आगामी बजेटमा जलवायु परिवर्तन अनुकूलन, विपद् जोखिम न्यूनीकरण र पूर्वतयारीसम्बन्धी कार्यक्रमलाई प्राथमिकता दिने उहाँले जानकारी दिनुभयो। विपद् व्यवस्थापनलाई राहत र उद्धारमा मात्र सीमित नगरी दीर्घकालीन जोखिम न्यूनीकरण तथा पूर्वतयारीमा समेत जोड दिनुपर्ने मुख्यमन्त्री भट्टको भनाइ छ।

 
 
 
सम्बन्धित समाचार