टीकापुर । रसुवास्थित जलविद्युत् आयोजनामा काम गर्न गएर भोटेकोशी बाढीमा बेपत्ता भएका श्रमिकको काम गरेको अवधिको पारिश्रमिक उनीहरूका परिवारलाई वितरण गरिएको छ ।
टीकापुर नगरपालिका–१ का वडाध्यक्ष मोहन विकको रोहवरमा आइतबार बेपत्ता श्रमिकका परिवारलाई पारिश्रमिक वितरण गरिएको हो । आयोजनाका लागि कामदार आपूर्ति गर्ने तुलाराम चौधरीले निर्माण कम्पनीबाट श्रमिकले काम गरेको अवधिको पारिश्रमिक ल्याएर परिवारलाई बुझाएका हुन् ।
पोखरा छिङहवा कन्स्ट्रक्सनले ४७ जना कामदारले काम गरेको अवधिको १८ लाख ७६ हजार ५७३ रुपैयाँ कामदार आपूर्तिकर्ताको खातामा पठाएपछि परिवारलाई वितरण गरिएको हो । त्यसमध्ये बाढी प्रभावित क्षेत्रबाट फर्किएका १४ जना कामदार र बाढीमा बेपत्ता भएका ३३ श्रमिकका परिवार छन् ।
बेपत्ता श्रमिकमध्ये २५ जना टीकापुर नगरपालिका, चार जना जानकी गाउँपालिका र चार जना बर्दियाको गेरुवा गाउँपालिकाका रहेको जनाइएको छ । तर पारिश्रमिक पाए पनि बेपत्ता श्रमिकका परिवारको मुख्य चिन्ता भने अझै आफन्तको अवस्थाबारे जानकारी पाउनु रहेको छ ।
टीकापुर नगरपालिका–५ का ठगराम चौधरीका छोरा कमल चौधरी बुवाको शव भए पनि छिट्टै फेला परोस् भन्ने प्रतीक्षामा रहेको बताउँछन् । दक्षिण कोरियाबाट फर्किएका उनले बुवाको अवस्थाबारे अझै कुनै निश्चित जानकारी नपाएको बताए ।
त्यस्तै, टीकापुर नगरपालिका शक्तिनगरका दिलबहादुर चौधरीकी श्रीमती यशोदा चौधरीले श्रीमान् बेपत्ता भएको पीडाबीच डेढ महिनाको ज्यालाबापत ६० हजार रुपैयाँ पाएकी छन् । तर अहिले ज्यालाभन्दा पनि श्रीमान्को खबर पाउनु परिवारको प्राथमिकता रहेको उनले बताएकी छन् ।
कामदार आपूर्तिकर्ता तुलाराम चौधरीका अनुसार निर्माण कम्पनीले काम गरेको अवधिको तलब उपलब्ध गराएको हो । बेपत्ता श्रमिकको बीमाबापतको रकम उपलब्ध गराउने विषयमा भने छलफल भइरहेको छ ।
भोटेकोशी बाढीपछि रसुवाका विभिन्न जलविद्युत् आयोजना तथा आसपासका क्षेत्रमा काम गर्न पुगेका थुप्रै श्रमिक सम्पर्कविहीन भएका थिए । उनीहरूको खोजी तथा पहिचानको काम जारी रहेकै अवस्थामा परिवारलाई काम गरेको अवधिको पारिश्रमिक उपलब्ध गराइएको हो ।