सुदूरपश्चिम सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक

1k Shares

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ। प्रदेश सरकारको प्राथमिकता र आगामी कार्यदिशा समेटिएको कार्यक्रममा उत्पादन, रोजगारी, सामाजिक न्याय तथा समावेशी विकासका विभिन्न विषयलाई प्राथमिकता दिइएको छ।

कार्यक्रममा प्रदेशमा उत्पादित वस्तु तथा सेवाको प्रवर्द्धन गर्ने उद्देश्यले ‘मेड इन सुदूरपश्चिम’ अभियान सञ्चालन गर्ने विषय समेटिएको छ। स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै प्रदेशभित्रै रोजगारी र आयआर्जनका अवसर विस्तार गर्ने लक्ष्य सरकारको छ।

त्यस्तै, दलित समुदायको अधिकार र सामाजिक न्यायलाई प्राथमिकता दिँदै ‘दलित अधिकार दशक’ सम्बन्धी कार्यक्रम अघि बढाउने प्रस्ताव गरिएको छ। दलित समुदायमाथि हुने विभेद तथा असमानता न्यूनीकरण गर्दै उनीहरूको सामाजिक, आर्थिक र राजनीतिक सशक्तीकरणमा जोड दिइने बताइएको छ।

सरकारले बालविवाह अन्त्यका लागि बालविवाहमुक्त प्रदेश निर्माणलाई समेत प्राथमिकतामा राखेको छ। शिक्षा, स्वास्थ्य, रोजगारी तथा सामाजिक सुरक्षाका क्षेत्रमा सुधार गर्दै नागरिकलाई प्रदेश सरकारको सेवा सहज रूपमा उपलब्ध गराउने लक्ष्य पनि कार्यक्रममा राखिएको छ।

प्रदेशको आर्थिक सम्भावनालाई उपयोग गर्दै कृषि, पर्यटन, उद्योग तथा स्थानीय उत्पादनको विकासमा जोड दिने सरकारको योजना छ। यसका लागि निजी क्षेत्र तथा स्थानीय तहसँग सहकार्य गरी विकासका कार्यक्रम अघि बढाउने नीति लिइएको जनाइएको छ।

न्यूनतम साझा कार्यक्रममार्फत प्रदेश सरकारका विभिन्न दलबीच साझा प्राथमिकता तय गर्दै आगामी कार्यकालमा जनमुखी तथा परिणाममुखी काम गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

सम्बन्धित समाचार