शुक्लाफाँटामा बाघको संख्या ५० पुग्यो, चार वर्षमा थपिए १४ पाटेबाघ

862 Shares

काठमाडौं । सुदूरपश्चिमको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको संख्या उल्लेख्य रूपमा बढेको छ। पछिल्लो राष्ट्रिय बाघ सर्वेक्षणअनुसार चार वर्षको अवधिमा १४ वटा बाघ थपिएसँगै निकुञ्जमा बाघको संख्या ५० पुगेको छ।

यसअघि सन् २०२२ मा गरिएको राष्ट्रिय बाघ गणनामा शुक्लाफाँटामा ३६ वटा बाघ अभिलेख गरिएको थियो। नेपालमा प्रत्येक चार वर्षमा राष्ट्रिय बाघ सर्वेक्षण गरिन्छ भने निकुञ्ज कार्यालयले हरेक वर्ष आन्तरिक अनुगमनसमेत गर्दै आएको छ। गत वर्षको आन्तरिक अनुगमनमा ४३ र त्यसअघिको वर्ष ४४ वटा बाघ भेटिएका थिए।

निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेका अनुसार बाघको संख्या बढ्नुको मुख्य कारण पर्याप्त आहारा प्रजातिको उपलब्धता, पानीका स्रोत, विशाल घाँसे मैदान र चोरीसिकार प्रभावकारी रूपमा नियन्त्रण हुनु हो।

उनका अनुसार शुक्लाफाँटामा नेपालकै सबैभन्दा ठूलो घाँसे मैदान रहेको छ, जहाँ बाघका आहारा प्रजातिको घनत्व प्रतिवर्ग किलोमिटर १४६ वटा रहेको छ। अन्य राष्ट्रिय निकुञ्जमा भने यो घनत्व प्रतिवर्ग किलोमिटर १०० भन्दा कम रहेको बताइएको छ।

वाग्लेले हालको अवस्थाले शुक्लाफाँटाले ५० वटासम्म बाघ सहज रूपमा धान्न सक्ने देखिए पनि अब संख्या बढाउनेभन्दा व्यवस्थापनमा ध्यान केन्द्रित गर्नुपर्ने आवश्यकता रहेको बताए। उनका अनुसार बाघको संख्या थप बढ्दै गएमा चितुवा आफ्नो बासस्थान छाडेर बाहिर निस्कने जोखिम बढ्न सक्छ।

निकुञ्ज कार्यालयका अनुसार हालसम्म शुक्लाफाँटाबाट बाहिर निस्किएका बाघका कारण कुनै मानवीय क्षतिको घटना अभिलेखमा छैन। तर चितुवा मानव बस्ती नजिक पुग्ने सम्भावना भने बढ्दै गएको छ।

यसलाई ध्यानमा राख्दै निकुञ्जले फेन्सिङ विस्तार, निगरानी प्रणाली सुदृढ बनाउने, मध्यवर्ती क्षेत्रका बासिन्दालाई सचेतना कार्यक्रम सञ्चालन गर्ने तथा सुधारिएको पशुखोर वितरणलगायतका कार्यक्रम अघि बढाउने तयारी गरेको जनाएको छ।

शुक्लाफाँटामा बाघका प्रमुख आहारा प्रजातिमा बाह्रसिङ्गा, हरिण, जरायो र बँदेल रहेका छन्। प्रशस्त आहारा उपलब्ध भएकाले बाघ अन्य क्षेत्रमा सर्ने सम्भावना कम हुने निकुञ्जको भनाइ छ।

शून्य चोरीसिकार कायम

निकुञ्जले पछिल्ला वर्षहरूमा बाघको चोरीसिकार पूर्ण रूपमा नियन्त्रण गर्न सफल भएको जनाएको छ। कार्यालयका अनुसार प्राकृतिक मृत्युबाहेक मानवीय कारण वा सिकारीका कारण बाघ मरेको कुनै घटना अभिलेखमा छैन।

सूचना अधिकारी वाग्लेका अनुसार बाघको अधिकांश प्राकृतिक मृत्यु भाले–भालेबीच क्षेत्राधिकारको लडाइँ वा वृद्धावस्थाका कारण हुने गरेको छ। पछिल्लो दुई वर्षमा निकुञ्जमा तीनवटा भाले बाघको प्राकृतिक मृत्यु भएको अभिलेख रहेको उनले जानकारी दिए।

बाघ संरक्षणमा हासिल भएको यो उपलब्धिले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई नेपालमा बाघ संरक्षणको सफल नमुनाका रूपमा थप स्थापित गरेको निकुञ्ज प्रशासनको विश्वास छ।

सम्बन्धित समाचार