विपद् व्यवस्थापन प्रभावकारी बनाउन मुख्यमन्त्री शाहको निर्देशन

1.4k Shares

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मनसुनजन्य विपद्को जोखिमलाई मध्यनजर गर्दै विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन सरोकारवाला सबै निकायलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएका छन् ।

प्रदेश विपद् व्यवस्थापनसम्बन्धी कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहले विभागीय मन्त्री, मन्त्रालयका सचिव तथा सुरक्षा निकायका प्रमुखहरूलाई विपद्को समयमा सधैं तयारी अवस्थामा रहन आग्रह गरे ।

सम्भावित जोखिम क्षेत्रको समयमै पहिचान गरी त्यस्ता स्थानमा पूर्वसूचना प्रणाली, उद्धार तथा राहतका सबै संयन्त्र तयारी अवस्थामा राख्न उनले निर्देशन दिए ।

मुख्यमन्त्री शाहले विपद् व्यवस्थापन प्रभावकारी बनाउन संघ, प्रदेश र स्थानीय तहका सरकारबीचको समन्वयका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदार संस्था र निजी क्षेत्रसँगको सहकार्य अपरिहार्य रहेको बताए ।

विपद्को अवस्थामा प्रभावित क्षेत्रमा तत्काल परिचालन हुन कमाण्ड पोस्टलाई सक्रिय बनाउन पनि उनले सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । उनले मनसुनका कारण बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्को जोखिम बढिरहेका बेला जनधनको क्षति न्यूनीकरणलाई प्राथमिकतामा राखेर सबै निकायले जिम्मेवारीपूर्वक काम गर्नुपर्नेमा जोड दिएका छन् ।

सम्बन्धित समाचार