गोरखाको भिमसेन थापा गाउँपालिका भित्रका पक्की घर र सरकारी भवन बीमामा समावेश हुने

1.9k Shares

गोरखा । भिमसेन थापा गाउँपालिका भित्र रहेका पक्की निजी घर तथा सरकारी भवनहरूलाई बीमाको दायरामा ल्याइने भएको छ। गाउँपालिकाले विपद्जन्य जोखिमबाट हुने सम्भावित क्षति न्यूनीकरण गर्ने उद्देश्यले घर तथा सरकारी भवन बीमा कार्यक्रम सुरु गरेको हो।

यस कार्यक्रमअन्तर्गत सोमबार गाउँपालिकाले राष्ट्रिय बीमा कम्पनी लिमिटेड सँग औपचारिक सम्झौता गरेको छ। सम्झौता अनुसार पहिलो चरणमा गाउँपालिकाको प्रशासनिक भवनलाई बीमामा समावेश गरी कार्यक्रमको सुरुवात गरिएको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारीका अनुसार इच्छुक घरधुरीले आवश्यक कागजातसहित सम्बन्धित वडामा निवेदन दिनुपर्नेछ। वडाबाट सङ्कलित निवेदन गाउँपालिकामार्फत बीमा कम्पनीमा पठाइने व्यवस्था गरिएको छ।

बीमा कार्यक्रममा सहभागी घर तथा भवनले अधिकतम ४ लाख रुपैयाँसम्मको क्षतिपूर्ति पाउने व्यवस्था गरिएको छ। इँट्टा–सिमेन्टबाट निर्माण गरिएका ढलान घर, भूकम्पपछि निर्माण भएका ढुंगा वा इँट्टाका घरहरू बीमामा समावेश हुनेछन्।

तर पूर्ण रूपमा अस्थायी सामग्री जस्तै काठ, टिन र माटोबाट बनेका घर, बुढीगण्डकी नदीको डुबान क्षेत्रमा पर्ने घर, ऐलानी जग्गामा निर्माण गरिएका तथा सडक मापदण्डभित्र परेका घरहरू भने बीमाको दायरामा नपर्ने गाउँपालिकाले जनाएको छ।

बीमा कार्यक्रम सञ्चालनका लागि गाउँपालिकाले वार्षिक सम्पत्ति करबाट सङ्कलित रकम प्रयोग गर्नेछ। प्रत्येक घरधुरीबाट न्यूनतम २५० रुपैयाँ संकलन हुने उक्त करबाट बीमाको प्रिमियम भुक्तानी गरिने व्यवस्था गरिएको छ।

गाउँपालिकाले प्राकृतिक प्रकोप, आगलागी, भूकम्प तथा अन्य आकस्मिक घटनाबाट हुने क्षतिका कारण घरधुरीमा पर्न सक्ने आर्थिक भार कम गर्ने लक्ष्यका साथ यो कार्यक्रम अघि बढाएको जनाएको छ। सम्झौताको अवधि एक वर्षको रहनेछ र आवश्यकता अनुसार अवधि थप गर्न सकिने व्यवस्था रहेको छ।

सम्बन्धित समाचार