तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत सेती नदीमाथि निर्माणाधीन दुईवटा पक्की पुलको भौतिक प्रगति ७० प्रतिशत पुगेको छ। मुग्लिन–पोखरा सडक आयोजना पश्चिम खण्डअन्तर्गत निर्माण भइरहेका दुवै पुल आगामी फागुन २१ गतेभित्र सम्पन्न गर्ने लक्ष्यसहित कामलाई तीव्रता दिइएको छ।
पुरानो पुलको दायाँ र बायाँतर्फ निर्माण भइरहेका अपस्ट्रिम र डाउनस्ट्रिम पुलको लम्बाइ १९०–१९० मिटर छ। पुल निर्माणका लागि २०७९ भदौ २६ गते एक अर्ब सात करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो।
मुग्लिन–पोखरा सडक आयोजना पश्चिम खण्डका आयोजना प्रमुख कृष्णबहादुर कुँवरका अनुसार पुल निर्माणको भौतिक प्रगति करिब ७० प्रतिशत पुगेको छ। निर्माणका क्रममा देखिएका अवरोध हटिसकेकाले निर्धारित समयभित्रै काम सम्पन्न हुने अपेक्षा गरिएको उनले बताए।
‘पुल अब म्यादभित्रै सम्पन्न हुन्छ। काममा कुनै अवरोध छैन। घरटहराको मुआब्जालगायत विषयसमेत टुङ्गो लागेर सम्बन्धित व्यक्तिले रकम बुझिसक्नुभएको छ,’ कुँवरले भने।
निर्माण कम्पनीका अनुसार डाउनस्ट्रिम पुलको गर्डर निर्माण सम्पन्न भइसकेको छ भने चारवटा टावर अर्थात् पाइलन निर्माणको काम अन्तिम चरणमा पुगेको छ। अब मुख्य रूपमा पुललाई सहारा दिने स्टे केबलमा आवश्यक तनाव दिने (स्ट्रेसिङ) कार्यमा ध्यान केन्द्रित गरिएको छ।
एसियाली विकास बैंकको ऋण सहयोगमा सडक विभागमार्फत निर्माण भइरहेको उक्त पुल तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित एम/एस रसुवा कन्स्ट्रक्सन कम्पनी प्रालिसँग सम्झौता गरिएको थियो। निर्धारित समयमा काम पूरा हुन नसकेपछि निर्माण अवधि थप गरिएको हो। हाल थपिएको म्याद आगामी फागुन २१ गतेसम्म कायम छ।
आयोजना प्रमुख कुँवरका अनुसार निर्माणमा आवश्यक जनशक्ति चीनबाट ल्याउनुपर्ने, चिनियाँ कामदारबाट इन्जिनियरिङबाहेकका काम गराउन कठिन हुने तथा निर्माण सामग्री चीनबाट ल्याउन ढिलाइ हुनेजस्ता कारणले काम प्रभावित भएको थियो। खानेपानीका पाइप स्थानान्तरण गर्नुपर्ने समस्याले पनि निर्माणको गति सुस्त भएको उनले बताए।
सेती नदीको उत्तरी भागमा सडक पहुँच व्यवस्थापन, जग्गा प्राप्ति र मुआब्जासम्बन्धी समस्याले समेत पुल निर्माणमा अवरोध सिर्जना गरेको थियो। एसियाली विकास बैंकको नीतिअनुसार सम्बन्धित जग्गाधनी तथा व्यवसायीलाई सडक पहुँच उपलब्ध गराउनुपर्ने भएपछि दुईवटा घर भत्काउनुपरेको थियो।
जग्गाधनीले प्रशासनले निर्धारण गरेको मुआब्जा रकममा असन्तुष्टि जनाउँदै रकम बुझ्न नमानेपछि समस्या लम्बिएको आयोजना प्रमुख कुँवरले बताए। लामो प्रयासपछि सहमति जुटेकाले अहिले पुलको माथिल्लो भागमा समेत काम गर्न सहज भएको उनको भनाइ छ।
‘जग्गाधनीले मुआब्जामा चित्त नबुझेको भन्दै प्रशासनले निर्धारण गरेको रकम बुझ्न मान्नुभएको थिएन। लामो प्रयासपछि उहाँहरू सहमतिमा आउनुभयो। अब पुलको माथिल्लो भागमा समेत काम गर्न समस्या छैन,’ कुँवरले भने।
सेती नदीमाथिको हालको पुल २०३२ सालमा निर्माण गरिएको हो। समयसँगै सवारीसाधनको चाप बढ्दै जाँदा पुरानो पुल साँघुरो भएपछि त्यसको दायाँ र बायाँतर्फ थप एक–एकवटा पक्की पुल निर्माण थालिएको हो।
दुवै पुल निर्माण सम्पन्न भएपछि पृथ्वीराजमार्गअन्तर्गत उक्त खण्डको यातायात सञ्चालनलाई सहज बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। निर्धारित समयभित्र निर्माण सम्पन्न भएमा यस क्षेत्रको सडक पूर्वाधार विस्तारमा महत्त्वपूर्ण उपलब्धि थपिनेछ।