म्याग्दी । पहिरोले घर बगाएपछि समस्यामा परेका म्याग्दीको बेनी नगरपालिका–९, ढोल्ठानका दुई परिवारका लागि स्वयंसेवकहरूले श्रमदान गरेर अस्थायी आवास निर्माण गरेका छन् । स्थानीयवासीको सहयोग र साहारा समूहका युवाहरूको सक्रियतामा रामचन्द्र परियार र रेखा दर्जीका परिवारका लागि दुईवटा घर निर्माण गरिएको हो ।
गत असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि गएको पहिरोले परियार र दर्जीको घर बगाएको थियो । घर गुमाएपछि बसोबासको समस्यामा परेका दुवै परिवारलाई तत्काल आश्रय उपलब्ध गराउने उद्देश्यले अस्थायी आवास निर्माण गरिएको साहारा समूहले जनाएको छ ।
समूहका संयोजक प्रकाश पौडेलका अनुसार १५ जना युवाले लगातार १० दिनसम्म श्रमदान गरेर दुईवटा अस्थायी घर निर्माण गरेका हुन् । दिवाकर गोल्छा फाउन्डेसनले उपलब्ध गराएको जस्तापाता प्रयोग गरी काठ र ढुङ्गामाटोबाट घर बनाइएको उनले जानकारी दिए । घर निर्माणका लागि आवश्यक काठजन्य सामग्री स्थानीयवासीले सहयोग गरेका थिए ।
विपद्का कारण घरबारविहीन भएका परिवारलाई तत्काल बसोबासको व्यवस्था मिलाउने उद्देश्यले श्रमदानमार्फत आवास निर्माण गरिएको संयोजक पौडेलले बताए । विपद्का बेला सामूहिक प्रयास र स्थानीय सहयोगबाट प्रभावित परिवारलाई राहत दिन सकिने उनको भनाइ छ ।
बाढीपहिरोबाट प्रभावित अन्य परिवारलाई समेत सहयोग गर्ने उद्देश्यले म्याग्दीको मङ्गला गाउँपालिकामा पनि थप अस्थायी आवास निर्माणको काम अघि बढाइएको संयोजक पौडेलले जानकारी दिए ।
असोज दोस्रो साता परेको अविरल वर्षापछि म्याग्दीका विभिन्न बस्तीमा बाढीपहिरोले घर, सडक, खानेपानीलगायतका संरचनामा क्षति पुर्याएको थियो । प्राकृतिक विपद्का कारण प्रभावित परिवारको जनजीवन प्रभावित भएको छ भने कतिपय परिवारलाई सुरक्षित बसोबासको व्यवस्था मिलाउनुपर्ने आवश्यकता देखिएको छ ।
विपद्बाट प्रभावित परिवारको पुनःस्थापना तथा राहतका लागि स्थानीयवासी, विभिन्न सङ्घसंस्था र सहयोगी निकायले सहयोगका कार्यक्रम सञ्चालन गरिरहेका छन् । स्वयंसेवकको श्रमदान, स्थानीयको सहयोग र विभिन्न संस्थाबाट प्राप्त सामग्रीको उपयोग गरी निर्माण गरिएका अस्थायी आवासले घर गुमाएका परिवारलाई तत्कालका लागि सुरक्षित आश्रय उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।