दसैँअघि खुल्यो घिरिङ–बौदीकाली जोड्ने पुल, कालीगण्डकी करिडोरमा आवागमन सहज

1.2k Shares

तनहुँ । कालीगण्डकी नदीमा आएको बाढीले पहुँच मार्ग बगाएपछि अवरुद्ध तनहुँको घिरिङ गाउँपालिका र पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिका जोड्ने पुल पुनः सञ्चालनमा आएको छ । पुलको दुवैतर्फ बाढीले क्षति पुर्‍याएको पहुँच मार्ग पुनर्निर्माण सम्पन्न भएपछि बिहीबारदेखि यातायात सञ्चालनमा आएको हो ।

गत असोज ११ गते आएको बाढीले पुलको तनहुँ र नवलपरासीतर्फको पहुँच मार्ग बगाएपछि आवागमन अवरुद्ध भएको थियो । दुवैतर्फको सडक क्षतिग्रस्त हुँदा स्थानीयवासी, यात्रु तथा मालसामान ढुवानी गर्ने व्यवसायीले सास्ती भोग्नुपरेको थियो ।

नवलपरासीतर्फको पहुँच मार्ग एक साताअघि नै निर्माण सम्पन्न भए पनि तनहुँतर्फको सडक तयार नहुँदा पुल सञ्चालनमा आउन सकेको थिएन । तनहुँतर्फको पहुँच मार्ग सडक डिभिजन कार्यालय तनहुँको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण गरिएको हो । सिद्धबाबा निर्माण सेवा स्याङ्जाले युनिट रेट सम्झौताअनुसार मर्मतको काम सम्पन्न गरेको जनाएको छ । निर्माण कम्पनीका अनुसार बुधबार साँझ ५ बजे काम पूरा भएको थियो ।

पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिकातर्फको पहुँच मार्ग भने गाउँपालिकाको पहल र स्थानीयवासीको श्रमदानमा निर्माण गरिएको हो । गाउँपालिकाका अध्यक्ष प्रकाश ओझाका अनुसार गाउँपालिकाको जेसीबी प्रयोग गरी स्थानीयको श्रमदानमा दुई दिन लगाएर सडक तयार पारिएको थियो । दसैँका बेला आवागमनमा समस्या नहोस् भन्ने उद्देश्यले सडक निर्माणलाई तीव्रता दिइएको उहाँले बताउनुभयो ।

पुनर्निर्माणका लागि सांसदको ताकेता

बाढीबाट क्षति पुगेका पुल तथा अन्य संरचनाको पुनर्निर्माणका लागि तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य इन्जिनियर श्रीराम न्यौपानेले सम्बन्धित निकायलाई पटकपटक आग्रह गर्नुभएको थियो । उहाँले क्षतिग्रस्त पुल तथा बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरी पुनर्निर्माणको अवस्थाबारे जानकारीसमेत लिनुभएको थियो ।

सांसद न्यौपानेले क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा ढिलाइ हुँदा स्थानीयवासी, यात्रु र ढुवानी व्यवसायी प्रभावित भएको बताउनुभयो । चाडपर्वका बेला नागरिकले आवतजावतमा थप सास्ती भोग्न नपरोस् भनेर अवरुद्ध सडक तथा पुल शीघ्र सञ्चालनमा ल्याउन सम्बन्धित निकायलाई निरन्तर ताकेता गरिएको उहाँको भनाइ छ ।

“चाडपर्वका बेला नागरिकले आवतजावतमा सास्ती भोग्न नपरोस् भनेर क्षतिग्रस्त संरचनाको पुनर्निर्माणलाई प्राथमिकता दिन सम्बन्धित निकायलाई ताकेता गरेका थियौँ । पुल सञ्चालनमा आएसँगै यस क्षेत्रका नागरिकको आवतजावत र ढुवानी सहज भएको छ,” उहाँले भन्नुभयो ।

कालीगण्डकी करिडोरमा आवागमन सहज

पुल सञ्चालनमा आएसँगै कालीगण्डकी करिडोर हुँदै तनहुँ, नवलपरासी, पाल्पा र स्याङ्जालगायतका क्षेत्रमा आवतजावत सहज भएको छ । दसैँ मनाउन घर फर्कने यात्रु तथा मालसामान ढुवानी गर्ने सवारीसाधनलाई समेत राहत पुगेको छ ।

करिब १२ वर्षअघि निर्माण गरिएको फलामे पुल गैंडाकोट–पिपलडाँडा जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत पर्छ । पोखरा, गैंडाकोट र रामपुर क्षेत्रलाई जोड्ने महत्त्वपूर्ण मार्गमा रहेको यस पुलको पहुँच मार्ग बाढीले बगाएपछि स्थानीयको आवागमन, व्यापार तथा ढुवानी प्रभावित भएको थियो ।

दुवैतर्फको पहुँच मार्ग पुनर्निर्माण गरी पुल सञ्चालनमा ल्याइएसँगै स्थानीयवासीलाई दैनिक आवतजावत गर्न सहज भएको छ भने दसैँका बेला यात्रु तथा व्यवसायीले भोग्दै आएको समस्या पनि कम हुने अपेक्षा गरिएको छ ।

सम्बन्धित समाचार