झापामा रहस्यमय हत्या : हराएकी युवतीको शव फेला

3.3k Shares

विराटनगर । झापाको दमक नगरपालिका–१० स्थित सेतुमाडी क्षेत्रमा शनिबार बिहान बोरामा पोको पारिएको अवस्थामा फेला परेको शवको पहिचान खुलेको छ ।

मृतक दमक नगरपालिका–८ बसन्त टोलका नारायण तिवारीकी २१ वर्षीया छोरी रोमा भनिने रमा तिवारी रहेको प्रहरीले जनाएको छ । उनको शव रतुवा खोलाको किनारमा भेटिएको हो ।

प्रहरीका अनुसार रमा बुधबार राति घरबाट हराएकी थिइन् । शनिबार बिहान करिब ११ बजे रतुवा खोलाको पुलमुनि सेतो प्लास्टिकको बोरामा पोको पारिएको अवस्थामा शव फेला परेको हो । प्रारम्भिक अनुसन्धानमा अन्यत्र हत्या गरी शव पुलमाथिबाट खोलामा फालिएको हुनसक्ने आशंका गरिएको छ ।

झापा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्र खड्काका अनुसार घटनाबारे विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ ।

परिवारका अनुसार मृतकका बुवा नारायण तिवारी र आमा मुना तिवारीले शव हेरेर आफ्नै छोरी भएको पहिचान गरेका थिए ।

आफन्तले दिएको विवरणअनुसार रमा जेठ १३ गते राति करिब ९:३० बजे घरबाट हराएकी थिइन् । त्यसपछि निरन्तर खोजी भइरहेकै अवस्थामा शनिबार उनको शव विभत्स अवस्थामा फेला परेको हो ।

प्रहरीले घटनाको गम्भीर अनुसन्धान जारी रहेको जनाएको छ ।

सम्बन्धित समाचार