सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका–२० च्यानडाँडाबाट प्रहरीले करिब २१० किलो गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ। गाँजा दुईवटा जिपमा लोड गरेर लैजाने तयारी भइरहेका बेला प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
सोमबार बिहान करिब ३ बजे गोप्य सूचनाका आधारमा प्रहरी टोली च्यानडाँडा पुगेको थियो। त्यसक्रममा बा.१ च ५०३८ र को.१ च ८१८२ नम्बरका दुईवटा जिपमा गाँजा लोड भइरहेको अवस्थामा प्रहरीले पाँच जनालाई फेला पारेको थियो।
प्रहरी टोलीलाई देखेपछि उनीहरू गाँजा बोकेर भाग्न खोजेपछि प्रहरीले दुई राउन्ड हवाई फायर गरेको जनाएको छ। त्यसपछि पाँचै जनालाई नियन्त्रणमा लिइएको हो।
प्रहरीले दुवै जिपमा खानतलासी गर्दा आठवटा पोकामा राखिएको करिब २१० किलो गाँजा बरामद गरेको थियो।
पक्राउ पर्नेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका–१० का २४ वर्षीय रामसागरकुमार यादव, सप्तरीकै राजगढ गाउँपालिका–१ का ४५ वर्षीय राजेन्द्रप्रसाद मण्डल र भारतको बिहारस्थित मधुबनी जिल्लाका ३८ वर्षीय सन्तोष ठाकुर रहेका छन्।
त्यस्तै, सप्तरीको छिन्नमस्ता गाउँपालिका–६ का ५९ वर्षीय राजकुमार शाह र सुनसरीको धरान उपमहानगरपालिका–११ का २१ वर्षीय अमृत बिशुङ्खे पनि पक्राउ परेका छन्।
प्रहरीका अनुसार रामसागर र राजकुमार बरामद भएका दुईवटा जिपका चालक हुन्। पक्राउ परेका पाँचै जनालाई नियन्त्रणमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको छ।
प्रहरीले बरामद गाँजा, दुईवटा जिप तथा पक्राउ परेका व्यक्तिहरूका विषयमा थप अनुसन्धान अघि बढाएको जनाएको छ। गाँजाको स्रोत, ओसारपसारको उद्देश्य र यसमा संलग्न अन्य व्यक्तिबारे समेत अनुसन्धान हुने प्रहरीले जनाएको छ।