पाँच जिल्लामा प्रहरीको विशेष कारबाही, जुवातास खेलिरहेका ५० जना पक्राउ

561 Shares

काठमाडौं । नेपालका पाँच जिल्लामा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ५० जनालाई पक्राउ गरेको छ। प्रहरीले विभिन्न स्थानमा छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिनुका साथै नगद रकम र ताससमेत बरामद गरेको हो।

नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार धनकुटा, कैलाली, ओखलढुंगा, ललितपुर र रुपन्देही जिल्लाबाट उनीहरू पक्राउ परेका हुन्।

प्रहरीका अनुसार धनकुटाबाट नौ जना, कैलालीबाट १४ जना, ओखलढुंगाबाट सात जना, ललितपुरबाट १० जना र रुपन्देहीबाट १० जना पक्राउ परेका छन्।

पक्राउ परेकाहरूको साथबाट प्रहरीले कुल चार लाख ४२ हजार ८०० रुपैयाँ नगद र नौ बुक तास बरामद गरेको जनाएको छ।

उनीहरूलाई विभिन्न घर, होटल, किराना पसल तथा कवाडी कारखानामा जुवातास खेलिरहेको अवस्थामा पक्राउ गरिएको हो।

जुवातास नियन्त्रण अभियानअन्तर्गत प्रहरीले विभिन्न स्थानमा निगरानी तथा कारबाहीलाई तीव्रता दिएको जनाएको छ। पक्राउ परेका व्यक्तिहरूमाथि घटनाको प्रकृति र संलग्नताबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

सम्बन्धित समाचार