काठमाडौं, १७ कात्तिक । तिहार तथा दीपावली पर्व नजिकिँदै गर्दा काठमाडौंमा अवैध रूपमा भित्र्याइएको ठूलो परिमाणको पटाकासहित एक भारतीय नागरिक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भारत घर भई हाल काठमाडौं महानगरपालिका–६ तीनचुलीमा बस्दै आएका २९ वर्षीय रमन कुमार पटेल रहेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दानबहादुर थापाका अनुसार विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले पटेलको डेरा तथा कारोबारस्थलमा छापा मारेको थियो। सो क्रममा ठूलो परिमाणमा पटाकासहित तिहारमा प्रयोग हुने भाइ मसला, चकलेटलगायतका सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ।
तिहार र दीपावलीका समयमा पटाका तथा अन्य विस्फोटक पदार्थको प्रयोगबाट आगलागी, चोटपटक र अन्य दुर्घटना हुन सक्ने भएकाले प्रहरीले अवैध कारोबार नियन्त्रणका लागि निगरानी बढाएको छ।
पक्राउ परेका पटेलमाथि प्रचलित कानुनअनुसार थप अनुसन्धान तथा आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।