जडीबुटीमा लुटेरा पक्राउ गर्न प्रहरीले चलायो गोली, खुट्टामा लागेर घाइते
1.7k
Shares
काठमाडौं । काठमाडौंको जडीबुटी क्षेत्रमा लुटपाटमा संलग्न एक व्यक्तिलाई प्रहरीले गोली प्रहार गरी पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले शनिबार जडीबुटीस्थित रोयल पार्टी प्यालेसनजिकै गोली चलाएर एक जना लुटेरा पक्राउ गरेको हो। प्रहरीका अनुसार पक्राउ गर्न खोज्दा उनी भाग्न प्रयास गरेपछि गोली प्रहार गरिएको थियो।
पक्राउ पर्ने व्यक्ति काठमाडौंको भद्रकाली निवासी गणेश कार्की रहेको प्रहरीले जनाएको छ। प्रहरीको गोली लागेर उनको बायाँ खुट्टा घाइते भएको छ।
प्रहरीका अनुसार कार्कीमाथि शनिबार दिउँसो जडीबुटी क्षेत्रको एक चप्पल कारखानामा काम गर्ने महिलाको सुनको सिक्री लुटेको आरोप छ।
उक्त लुटपाट घटनामा संलग्न अर्का एक व्यक्तिलाई भने प्रहरीले शनिबार दिउँसै पक्राउ गरिसकेको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।