पोखरामा सम्पन्न नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ राष्ट्रिय महाधिवेशनबाट पुष्पप्रसाद सिटौला अध्यक्षमा निर्वाचित भएका छन् । उनले ९०३ मत प्राप्त गर्दै प्रतिस्पर्धी हरिशरण केसीलाई ४३९ मतान्तरले पराजित गरेका हुन् ।
यसअघि महासंघको वरिष्ठ उपाध्यक्ष रहेका सिटौला नयाँ नेतृत्व चयनसँगै अध्यक्षको जिम्मेवारीमा पुगेका हुन् । महासंघको नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा सानुकाजी प्रजापति, एनकुमार साई र केदारप्रसाद पौडेल निर्वाचित भएका छन् ।
उपाध्यक्ष पदमा चन्द्र ओझा, आत्माराम शर्मा, टेकराज पन्त, कमलराज मित्र, कान्छामान बल, जितबहादुर भारती र रामप्रसाद सुवेदी निर्वाचित भएका छन् । यस्तै मालवाहक उपाध्यक्षमा यादवलाल श्रेष्ठ विजयी भए भने महासचिवमा धनञ्जय गौतम निर्वाचित भएका छन् ।
महाधिवेशनबाट ७८ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको महासंघले जनाएको छ । देशभरका यातायात समिति, कम्पनी, प्रालि तथा सहकारीबाट आएका प्रतिनिधि र पर्यवेक्षकहरूको सहभागितामा नेतृत्व चयन भएको हो ।