फरार आरोपीको खोजी तीव्र, हिरासतबाट छुटेका व्यक्ति पनि हत्या प्रकरणमा संलग्न

1.7k Shares

काठमाडौं । कीर्तिपुरमा युवकको हत्या भएको घटनामा केही दिनअघि मात्रै हिरासतबाट छुटेका व्यक्तिको समेत संलग्नता रहेको खुलेपछि प्रहरीले अनुसन्धान तीव्र बनाएको छ ।

कीर्तिपुर नगरपालिका–१० पोडेटोलमा बुधबार दिउँसो करिब साढे २ बजे गुल्मी धुर्कोट घर भई कीर्तिपुर बस्दै आएका २४ वर्षीय विपिन घिमिरेमाथि धारिलो हतियार प्रहार भएको थियो । गम्भीर घाइते भएका उनलाई उपचारका लागि कीर्तिपुर अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रहरीका अनुसार घटनास्थलमा ६ जनाको समूह रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सोही समूहबीच विवाद चर्किएपछि विपिनमाथि आक्रमण भएको देखिएको प्रहरीले जनाएको छ । घटनामा संलग्नमध्ये केही दिनअघि हिरासतबाट छुटेका व्यक्ति पनि रहेको खुलेपछि प्रहरीले त्यसतर्फ विशेष अनुसन्धान अघि बढाएको छ ।

घटनाबारे सोधपुछका लागि प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । यद्यपि मुख्य आक्रमणकारीहरू भने अझै पक्राउ परेका छैनन् । प्रहरीका अनुसार संलग्न व्यक्तिहरूको पहिचान भइसकेको छ र पक्राउका लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, जिल्ला प्रहरी परिसर काठमाडौं तथा प्रहरी वृत्त कीर्तिपुरको टोली परिचालन गरिएको छ ।

प्रहरीले हत्या हुनुको वास्तविक कारण अझै खुल्न बाँकी रहेको जनाएको छ । मुख्य आरोपी पक्राउ परेपछि घटनाको विस्तृत विवरण सार्वजनिक गरिने प्रहरीको भनाइ छ ।

 
 
सम्बन्धित समाचार