लमजुङमा अघिल्लो वर्षको भन्दा धेरै आलु उत्पादन

1.5k Shares

मजुङ ३, भदौ । जिल्लामा ३७ हजार आठ सय ५९ मेट्रिकटन आलु उत्पादन भएको छ । गत आर्थिक वर्ष २०८०८१ मा दुई हजार दुई सय ८५ हेक्टर क्षेत्रफलमा गरिएको आलु खेतीबाट उक्त परिमाणमा आलु उत्पादन भएको कृषि ज्ञान केन्द्र लमजुङले जनाएको छ । केन्द्रका सूचना अधिकारी एवं बाली संरक्षण अधिकृत विजयराज पौडेलले अघिल्लो वर्षको तुलनामा आलु खेतीको क्षेत्रफल घटे पनि आलु उत्पादन वृद्धि भएको बताए । अघिल्लो आव २०७९८० मा दुई हजार छ हेक्टर क्षेत्रफमा २१ हजार नौ सय ३९ मेट्रिकटन आलु उत्पादन भएको थियो ।

सूचना अधिकारी पौडेलका अनुसार आव २०७९८० मा प्रतिहेक्टर ११ टन आलु उत्पादन भएको थियो । आव २०८०८१ मा प्रतिहेक्टर १६ दशमलव ५७ टन आलु उत्पादन भएको छ ।

जिल्लाको सुन्दरबजार, राइनास, बेँसीसहर र मध्यनेपाल नगरपालिकालाई हिउँदे आलु उत्पादन पकेट क्षेत्र घोषणा गरिएको छ । मर्स्याङदी, दुधपोखरी र क्व्हेलासोथार गाउँपालिकालाई वर्खे आलुको मुख्य पकेट क्षेत्र मानिएको छ । जिल्लामा कार्डिनल, कुख्रेजोती, एमएम फोर्टिटुलगायत जातका आलु खेती गर्दै आएको किसानको भनाई छ ।

निर्वाहमुखी आलु खेती गर्दै आएका कृषकहरु गत आवदेखि व्यावसायिक हुन थालेका छन् । रैथाने र उन्नत जातको आलु उत्पादन बढी हुने भएकाले प्रदेश सरकारले गत आर्थिक वर्षदेखि खायन आलुको उत्पादन वृद्धि गर्ने गरी कार्यक्रम ल्याएको केन्द्रले जनाएको छ ।

कार्यक्रम अन्तर्गत कृषकलाई उन्नत जातको आलुको बीउ, सिँचाइ सामग्री उपलब्ध गराउने, आलु लगाउने प्रविधि हस्तान्तरण गर्दै आएको छ । 

सम्बन्धित समाचार