सर्लाहीको नवलपुरबाट भेटेरिनरी प्रमाण पत्र गलत बनाएर गोरु निकासी हुने गरेको पाइएको छ ।लालबन्दी नगरपालिका १ स्थित नवलपुर बजारबाट बाहिर निकासी हुने गोरुको भेटेरिनरी प्रमाण पत्र स्थानीय गोरु व्यापारी आफैँले बनाएर पठाउने गरेको प्रमाण कमलामाई मिडिया प्रा.लिलाई प्राप्त भएको छ ।
पशु सेवा कार्यालय मलंगवाका पशु सेवा प्राविधिक डा.सत्यन्द्र कुमार रायले हस्ताक्षर गरेर भेटेरिनरी प्रमाण पत्र नवलपुर बजारका गोरु व्यापारी निरज कुमार सिंहलाई दिने र उनले आफैँले भेटेरिनरी प्रमाण पत्र भरेर सहि छाप गरी पठाउने गरेका पाइएको हो ।नेपाल पशु चिकित्सक परिषद दर्ता नम्बर १२६५ भएका डा.राय सरकारी सेवामा रहेका भएपनि उनले एउटा भेटेरिनरी प्रमाण पत्रको रु पाँच सय लिएर पहिला नै भेटेरिनरी प्रमाण पत्रमा हस्ताक्षर गरी पठाउने गरेका प्रमाण कमलामाई मिडिया प्रा.लिलाई प्राप्त भएको हो ।
गोरु व्यापारी सिंहका अनुसार पशु सेवा कार्यालय मलंगवाका पशु सेवा प्राविधिक डा.राय एउटा मात्र ट्रक लोड हुने समयमा नवलपुर नआउने र दुई÷तीनवटा ट्रक लोड हुने भएमा आउने गरेका छन् । तथापी पनि पशु सेवा कार्यालय मलंगवाका पशु सेवा प्राविधिक डा.रायले आँखैले हेरेर भेटेरिनरी प्रमाण पत्र भरेर सहि छाप गरी पठाउने गरेका उनले स्वीकार गरे ।
एउटा मात्र ट्रक लोड हुँदा गोरु व्यापारी सिंह आफैँले पशु सेवा कार्यालय मलंगवाका पशु सेवा प्राविधिक डा.रायको अनुपस्थितीमा भेटेरिनरी प्रमाण पत्र भरेर पठाउने गरेको पाइएको हो । डा.रायले धेरैवटा भेटेरिनरी प्रमाण पत्रहरुमा हस्ताक्षर गरि गोरु व्यापारी सिंहलाई पहिला नै दिने गरेका र सिंहले आफ्नो झोलामा राखेर पछि भरेर पठाउने गरेको स्वीकार गरेका छन् ।ईलाका प्रहरी कार्यालयहरु,जिल्ला ट्राफिक प्रहरी कार्यालयहरु,जिल्ला प्रहरी कार्यालयहरुका साथै प्रदेश प्रहरी कार्यालयहरुलाई कमिसन मिलाउने काम गोरु व्यापारी सिंहले नै गर्दै आएका समेत पाइएको छ ।
लालबन्दी नगरपालिका १ नवलपुरबाट मात्रै नभई पश्चीमबाट आउने गोरुहरुको पनि मधेश प्रदेशदेखि झापाको दमक गोरुबजार सम्म गोरु निकासी गर्दा सिंहले नै प्रहरीको लाईन मिलाउने गरेका उनकै समकक्षीहरु बताउँछन् ।लालबन्दी नगरपालिकाले गत वर्ष झैँ यस वर्ष पनि नवलपुर गोरु बजारको ठेक्का लगाउन रु ११ लाख मुल्य राखेर सूचना जारी गरेको भएपनि ठेक्का नलाग्दा सम्म नगरपालिका आफैँले प्रति ट्रक रु तीन हजार दैनिक रसिद काटि रहेको छ ।