सर्लाहीको हरिवन नगरपालिका ९ स्थित रहेको सगुन शिक्षा सहकारी संस्था लिमिटेडको रु पौने चार करोड रकम अनियमितता भएको छानविन तथा सुझाव समितिले निष्कर्ष निकालेको छ।श्यामबाबु कार्कीको संयोजकत्वमा गठन भएको तीन सदस्यीय छानविन तथा सुझाव समितिले हरिवन नगरपालिका ९ स्थित रहेको सगुन शिक्षा सहकारी संस्था लिमिटेडको रु तीन करोड ७५ लाख ९५ हजार नौ सय नौ रुपैँया २३ पैसा अनियमितता भएको भन्दै सहकारीका अध्यक्ष बाबुराम घिमिरेबाट असुल उपर गर्नुपर्ने निष्कर्ष निकालेको हो ।
सहकारीको २०७९ पुस ३० गते भएको नवौ वार्षिक साधारण सभामा लेखापरिक्षण प्रतिवेदनका सम्बन्धमा विवाद भएपछि कार्कीको संयोजकत्वमा रामहरि निरौला र उद्धव प्रसाद पौडेल सदस्य रहने गरी तीन सदस्यीय छानविन समिति गठन भएको थियो।समितिले सहकारीको एकै लेखापरिक्षकको दुईवटा लेखापरिक्षण प्रतिवेदन आएपछि सहकारीको रकम अध्यक्ष घिमिरेले अनियमितता गर्ने र अनियमितता भएका कुरा लुकाउने प्रयास गरेका भन्दै सहकारीका लेखापाल एवम व्यवस्थापक प्रदिप थापाको लिखित बयान समेत लिएको थियो ।उनले दिएको लिखित बयानमा सहकारीको दुई वटा लेखा परीक्षण गराएकोमा आफु जिम्मेवार नभएको बताएका छानविन तथा सुझाव समितिले जनाएको छ ।
समितिका अनुसार छुटा लेखा परीक्षण प्रतिवेदन तयार पार्न लगाई शेयर सदस्य एवम संस्था हितविपरित रही आर्थिक हिनामिना मसौट गर्ने नियत राखि नगद तरलता लुकाएको साथै संस्थालाई ऋणको भारमा पारी सहकारी तथा विद्यालयतर्फको नगद तरलता मसौट गरेको पाइयो ।शंकर प्रसाद साहसँग बरहथवा सनफ्लावर ईङलिस आवासीय विद्यालय प्रा.लि.खरिद गर्दा देखाइएको खर्च शंकास्पद रहेको,सबैलेखा परीक्षण प्रतिवेदन मेल नखाएको,लेखा परीक्षण त्रुटीपूर्ण गराइएको,नगद तरलता नदेखाएको र लेखा कम्प्युटरबाट समेत हिसाब हटाई लेखापरिक्षण गराईएको पाईयो समितिका संयोजक कार्कीले जानकारी दिए ।
उनका अनुसार संचालक समिति र विस्तारित बैठकमा समेत पास नगरि नवौ साधारण सभामा लेखापरिक्षण प्रतिवेदन पास गराउन खोज्नु र पास गराइएका लेखा परीक्षण प्रतिवेदन संस्था र शेयर सदस्यहरुको हित विपरित भएको साथै सम्पुर्ण क्रियाकलापको जिम्मेवारी सहकारीका अध्यक्ष घिमिरेकै हुने साथै सहकारी संचालक अध्यक्षको रुपमा रहेको जिम्मेवारी पाए(आर्थिक वर्ष २०७१/०७२ )देखि कै लेखा परीक्षण झुठो भएको पाइएको हो ।नगद तरलता हुँदाहुँदै उक्त रकम मसौट गरि बिना आधार पेश्की वा खर्च नलेखि विभिन्न मितिमा चेकबाट रु ५९ लाख २८ हजार पाँच सय सहकारीका अध्यक्ष घिमिरे,टंक बहादुर बस्नेत र गोकुल नामका मानिसको नामबाट निकालेको पाइएको समितिका सदस्य निरौलाले जानकारी दिए ।
“लेखा व्यवस्थापन शत प्रतिशत नभएको,लेखा परीक्षण गराउँदा संस्थामै बसी हिसाब भिडाई परीक्षण गर्नुपर्नेमा आर्थिक वर्ष २०७८/०७९ सम्म नगरेको,त्रुटीपूर्ण रहेको कारण नगद तरलता फालेको अवस्था सिर्जना भएको,चेक वा नगदबाट रकम दिनुपर्ने कारणसहित प्रविष्टि तयार पार्नुपर्नेमा सो नगरि भुक्तानी दिएको र पेश्की पनि नजनाएको साथै फछर््यौट पनि नगरेको,भवन निर्माण गर्दा पार्टी वा व्यक्तिलाई दिइएको पेश्की रकम समयमै बिल भरपाई लिई पेश्की फछर््यौट गर्नु पर्नेमा सो नगरि पेश्की रकमको अनुमोदन निर्णय गराई अडिट रिपोर्टमा सम्पत्तिमा जोडी परीक्षण गरेको,पेश्की दिंदा लागत अनुमान नगरि बढी रकम भुक्तानी गरेको,भवन निर्माण उप समितिको संयोजक स्वयम् अध्यक्ष घिमिरे भई कमिटि निर्माण गरिएकोमा शुरुमा जम्मा एक पटकमात्र बैठक बसेको साथै पेश्की दिएका रकमहरुको प्राप्त बिल वा आवश्यक बिल मागि हरहिसाब गरि फछर््यौट गर्न निर्णयको सिफारिस संचालक समितिलाई गरि समयमै पेश्की फछर््यौट गर्नु पर्नेमा नगरेको पाइएको” समितिले निष्कर्ष निकालेको छ ।
त्यसैगरी,आफ्नो संस्थाको बैंक खातामा रकम जम्मा गरि आफ्नै बैक खाताको रकम नियमानुसार भुक्तानी दिने व्यवस्था हुनु पर्नेमा सो नभई सगुन बचत तथा ऋण सहकारी संस्था लि.हरिवन नगरपालिका ११ सर्लाहीको आन्तरिक बैंक खाताबाट संस्थाको भवन निर्माणमा पार्टी वा व्यक्तिलाई चेक रकम भुक्तानी र पार्टीको आन्तरिक बचत खातामा जम्मा गरि सगुन सहकारीले संस्थालाई दिएको ऋण मानि पेश्की जनाएको,संस्थाको दैनिक कारोबार भोल्टमा के कति रकम बैंकमा जम्मा भएको छ वा छैन् भन्ने निगरानी नगरेको,बैंक खातामा रकम नभएको अवस्थामा करिब ५ महिना पछिको चेक दिने गरेको र ऋण लिने संस्थाले बैंकबाट ऋण पाउने संस्थाको खातामा प्राप्त ऋण जम्मा गरेर मात्र चेक रकम व्यक्तिलाई उपलब्ध गराउनु पर्नेमा सो नगरी ऋण दिने संस्थाले आफ्नो आन्तरिक खाताको चेक दिई आन्तरिक खातामा समेत पैसा जम्मा गरेको देखाई ऋण प्राप्त गर्ने संस्थाले चेक र भौचरको प्रतिलिपी राखि हिसाब मिलान गरेको पाइएको समितिले निष्कर्ष निकालेको छ ।
“संचालक समिति र विस्तारित बैठकमा समेत पास नगरि नवौ साधारण सभामा लेखापरिक्षण प्रतिवेदन पास गराउन खोज्नु झनै संस्था र शेयर सदस्यहरुको हित विपरित भएको हुँदा सम्पूर्ण कियाकलापको जिम्मेवारी संस्थाको अध्यक्ष घिमिरे कै हुने हुँदा उक्त माथि बेरुजु गरिएको रकम रु. ६१ लाख ७८ हजार पाँच सय मात्रको बिगो बराबर रु ६१ लाख ७८ हजार पाँच सय नै थप गरि जम्मा रु. एक करोड २३ लाख ५७ हजार मात्र अध्यक्ष घिमिरेबाट असुली उपर गर्नुपर्ने देखिएको”समितिले निष्कर्ष निकालेको समितिका सदस्य पौडेलले जानकारी दिए । उनका अनुसार “सहकारी तर्फरु ४३ लाख ८२ हजार पाँच सय ७१ रुपैँया २२ पैसा र विद्यालय तर्फ नगद तरलता रु.दुई करोड ७० लाख ३४ हजार आठ सय ३८ रुपैँया एक पैसा र रु ६१ लाख ७८ हजार पाँच सय नै थप गरि कुल रु तीन करोड ७५ लाख ९५ हजार नौ सय नौ रुपैँया २३ पैसा संस्थाका अध्यक्ष घिमिरेले अनियमितता गरेका”समितिले जनाएको छ ।साथै हालसम्म संस्थाको भवन निर्माणमा लागेको सामाग्रीहरु के कति लागेको हो ?सो को व्यवस्थित रेकर्ड नभएको साथै भवन निर्माण सम्पन्न पश्चात् नियमानुसार प्राविधिक मूल्यांकन समेत नभएकोले एकिन थाहा पाउन प्राविधिक मूल्यांकन र लागत इष्टिमेट गराउनुपर्ने समितिले निष्कर्ष निकालेको छ ।पेश्की व्यक्ति वा पार्टीलाई दिइएको रकममा प्राप्त भएको बिल रकमको लागत एकिन गरि नियमानुसार पेश्की फछर््यौट गर्नुपर्ने,बिल प्राप्त नभएका व्यक्ति वा पार्टीको हकमा नियमानुसार असुली उपर वा पेश्की फर्छ्यौट गर्नुपर्ने,नगद तरलता सम्बन्धमा यथोचित छुटेका बिल भरपाई भएमा पछि पनि उक्त रकम थपघट गर्न सकिने मौकाबाट वञ्चित नगर्ने र समयावधि बढीमा साधारण सभा भएको मितिले तीन महिना भित्र संचालक समितिमा पेश गरि फरफराक गर्न पाउने मौका दिने र उक्त समय अवधिभित्र फरफराक नगरेमा नियमानुसार माथि उल्लेखित रकम निजको घर घरानाबाट समेत असुल उपर गर्न सिफारिस साथ अनुमोदनका लागि समितिले अनुरोध गरेको छ ।
यता,करिब तीन हजार शेयर सदस्यहरुले जम्मा गरेको रकमको हिसाब किताब पादर्शी नराखेका,निर्णय एकातिर काम अर्काे तिर गरेका,दुई वटा सहकारी र एउटा विद्यालय गरी तीनवटै निकायको खाता सञ्चालकमा अध्यक्ष घिमिरे नै बसेका र उनकै नाममा खाता सञ्चालन गरेका लगायतका समस्याहरु रहेका समितिका संयोजक कार्कीले बताए ।