मधेश प्रदेशको राजधानी जनकपुरबाट दुई जना नीजि स्वास्थ्य संस्थाका विचौलिया पक्राउ गरिएको छ ।मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री विरेन्द्र सिंह सरकारी अस्पताल अनुगमन गर्ने निस्केको समयमा सरकारी अस्पतालमा उपचार गराउन आएका विरामीलाई नीजि अस्पताल तर्फ लैजान लागेका दुई जना विचौलियालाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाइएको मन्त्री सिंहका स्वकीय सचिव निकेश त्रिपाठीले जानकारी दिए ।उनका अनुसार मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री सिंहले शनिवार विहान प्रादेशिक अस्पताल जनकपुरमा आकस्मिक छड्के निरीक्षणको क्रममा विरामीले गरेको गुनासोको आधारमा महोत्तरीको लोहरपट्टी नगरपालिका ४ का २७ बर्षिय रामविनय यादव र भंगहा नगरपालिका ३ का २७ बर्षिय राकेश महरालाई सरकारी अस्पतालमा उपचार गराउन आएका विरामीलाई नीजि अस्पताल तर्फ लैजान खोज्दै गर्दा नियन्त्रणमा लिइएको हो ।
शनिबार बिहान प्रादेशिक अस्पताल जनकपुरमा निरीक्षण अनुगमनको क्रममा एक जना महिलाले बच्चा जन्माएपछि उनलाई राम्रो एवम समुचित उपचार नीजि अस्पतालमा गराइ दिन्छु भन्दै यादव र पासवानले फकाएर लैजान लागेको अवस्थामा मन्त्री सिंहले थाहा पाएपछि दुबै विचौलियालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय धनुषालाई आवश्यक कार्बाहीको लागि जिम्मा लगाइएको मन्त्री सिंहका सचिवालयले जनाएको छ ।प्रदेशका कुनै पनि विरामी नीजि अस्पतालमा उपचार गराउन जानु नपरोस,सरकारी अस्पतालहरुलाई सेवा सुविधा एवम चिकित्सा सेवाको लागि उपयुक्त साधनश्रोतबाट भरिपूर्ण भएको अवस्थामा नीजि अस्पतालमा गएर अनाधिकृत रुपमा लाखौं खर्च गर्नुपर्ने झन्झटीलो उपचार सेवालाई पूर्ण रुपमा निस्तेज बनाउने अभियानमा मन्त्री सिंह लागेको मन्त्री सिंहको सचिवालयले जनाएको छ ।
“सरकारी अस्पतालमा दक्ष जनशक्तिहरु उपलब्ध गराइएको छ,समुचित रुपमा सबै खाले विरामीहरुको उपचारको लागि उचित बन्दोबस्त मिलाइएको छ,नेपाल सरकारको मापदण्ड अनुसारको औषधीहरुको व्यवस्थापन गरिएको भएपनि सरकारी अस्पतालमा उपचार गराउन आएका विरामीहरुलाई विचौलियाहरु ललाई फकाई लैजाने परिपाटीलाई पूर्ण रुपमा भत्काउन खोजेको हुँदा उक्त कार्यमा सबै सरोकारवाला निकाय एवम सर्वसाधारणहरु सजग भएर सरकारी वा प्रादेशिक अस्पतालमै उपचार गराउनु”मन्त्री सिंहले आग्रह समेत गरेका छन् ।
स्वास्थ्य मन्त्री सिंहको चाहनालाई शतप्रतिशत पालना गर्न गराउन प्रादेशिक अस्पतालको पनि त्यतिकै दायित्व रहेको मन्त्री सिंहका स्वकीय सचिव त्रिपाठीले बताए ।उनका अनुसार विचौलियाहरुलाई पूर्ण रुपमा प्रतिबन्ध लगाउनुपर्ने अन्यथा प्रादेशिक अस्पताललाई नीजि क्षेत्रका अस्पतालहरुले बदनाम गराउने काम गरेका छन ।मधेश प्रदेश सरकारमा स्वास्थ्य मन्त्री भएर सिंह आएदेखि नै प्रदेशको आठै जिल्लामा रहेका प्रादेशिक अस्पताललाई सुदृढ बनाई ती जिल्लाहरुका विरामीहरु नीजि अस्पतालमा जानु नपरोस भन्ने उद्देश्य उनको रहेको हुँदा सबै पक्ष मिलेर विचौलिया प्रथालाई अन्त्य गरी सरकारी अस्पताल प्रतिको विश्वासलाई अघि बढाएमा मात्रै स्वास्थ्य क्षेत्रमा देखिएको समस्याहरु अन्त्य हुने तथा स्वास्थ्य मन्त्री सिंहले लिएको उद्देश्य एवम लक्ष्य पुरा हुने मन्त्री सिंहका स्वकीय सचिव त्रिपाठीले बताए ।मन्त्री सिंहले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका नीजि स्वास्थ्य संस्थाका विचौलियाहरु यादव र पासवानलाई जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखेर आवश्यक अनुसन्धान सुरु गरिएको धनुषा प्रहरीले जनाएको छ ।