सर्लाहीको ईश्वरपुरका विभिन्न स्थानबाट हराएका दुई वटा मोटरसाईकल प्रहरीले फेला पारेको छ ।सोमबार राती इश्वरपुर नगरपालिका ६ बाट प्रदेश २–०१–००१ प २१८१ नम्वरको १५० सीसीको पल्सर र इश्वरपुर नगरपालिका ७ बाट ज १० प ८६४० नम्वरको साइन मोटरसाइकल हराएको सूचना पाएपछि खोजी सुरु गरेको प्रहरीले मंगलबार इश्वरपुर नगरपालिका ७ स्थित झाडीमा लुकाएर राखेको अवस्थामा बरामद् गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
दुई वटा मोटरसाईकल एकै पटक हराएको सूचना पाएपछि तातेको ईलाका प्रहरी कार्यालय केशरगन्ज,बयलवासको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा इश्वरपुर नगरपालिका ७ स्थित रहेको नगरपालिकाको कार्यालय पछाडी झाडीमा लुकाएर राखेको अवस्थामा दुई वटै मोटरसाईकल फेला पारेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।हराएको २४ घण्टा नवित्दै फेला पारीएका दुवै मोटरसाईकल मंगलबार नै सम्बन्धीत मोटरसाईकल धनीलाई बुझाइएको ईलाका प्रहरी कार्यालय केशरगन्ज,बयलवासले जनाएको छ ।पछिल्लो समय सर्लाहीका विभिन्न स्थानहरुमा मोटरसाईकल चोरीका साथै सपल चोरी हुने घटनाहरु बढेको छन् ।