गणेश खड्का
ललितपुर । एमसीसी सम्झौता खारेजीको माग गर्दै बन्द गर्दै हिड्ने करिब एक दर्जन बन्द कर्तालाई ललितपुर प्रहरीले नियन्त्रणमा लिएको छ । एमसीसी सम्झौता खारेजीको माग गर्दै बुधबार नेपाल बन्द भन्दै बन्द गराउँदै हिडेका एक दर्जन बढीलाई नियन्त्रणमा लिएको ललितपुर प्रहरीले जनाएको हो ।
एमसीसी सम्झौता खारेजीको माग गर्दै विभिन्न ६ वटा दल तथा समूहले नेपाल बन्दको आव्हान गरेका थिए । तर बुधबारको नेपाल बन्दको प्रभाव ललितपुरमा समान्य परेको थियो । ललितपुरका मुख्य मुख्य चोक र सडकका बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन भएका छन्। बन्दकर्ताले गर्नसक्ने उच्छृङखल गतिविधिलाई रोक्न बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको महानगरिय प्रहरी परिसर ललितपुरका प्रवक्ता एवम प्रहरी उपरीक्षक सिद्धि विक्रम शाहले बताए । उनका अनुसार बन्द गराउँदै हिडेका १२ जनालाई लगनखेलको बटुकभैरव,मंगलबजार, महालक्ष्मीस्थान र बल्खु एरियाबाट नियन्त्रणमा लिएको हो ।

एमसीसी सम्झौता खारेजीको लागि विप्लव नेतृत्वको नेपाल कम्प्युनिष्ट पार्टी,मोहन बैद्य(किरण) नेतृत्वको नेपाल कम्प्युनिष्ट पार्टी(क्रान्तिकारी माओवादी),सिपि गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा,ऋषि कट्टेल नेतृत्वको नेपाल कम्प्युनिष्ट पार्टी,आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा(माओवादी केन्द्र)समाजवादीले बुधबारको बन्दलाई ऐक्यबद्धता जनाएका छन् । बन्दको पूर्वसन्ध्यामा कुनै पनि कानुन विपरीतका गतिविधि हुन नदिन सबै सुरक्षा संयन्त्रलाई उच्च सतर्कता र निगरानी बढाउन गृह मन्त्रालयले निर्देशन दिएको थियो ।