काठमाडौँ । प्रहरीले रुपन्देहीमा अवैध लागुऔषध खैरो हेरोइनसहित एक युवकलाई पक्राउ गरेको छ। त्यस्तै, स्याङ्जामा हातहतियार तथा खरखजाना मुद्दामा कैद सजाय सुनाइएका फरार प्रतिवादी पनि पक्राउ परेका छन्।
रुपन्देहीको सिद्धार्थ नगरपालिका–३ बाट सिद्धार्थ नगरपालिका–१ निवासी २० वर्षीय अफजल पठानलाई १८ ग्राम खैरो हेरोइनसहित प्रहरीले पक्राउ गरेको हो।
लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरी टोलीले उनलाई शुक्रबार पक्राउ गरेको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
यसैगरी, स्याङ्जामा हातहतियार तथा खरखजाना मुद्दामा फरार रहेका ६८ वर्षीय रनबहादुर थापा पक्राउ परेका छन्। बिरुवा गाउँपालिका–३ निवासी थापालाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको टोलीले पुतलीबजार नगरपालिका–१ स्थित स्याङ्जाबजारबाट पक्राउ गरेको हो।
जिल्ला अदालत स्याङ्जाले उक्त मुद्दामा थापालाई ११ महिना १० दिन कैद सजाय सुनाएको थियो। सजाय ठहर भएपछि फरार रहेका उनलाई पक्राउ गरी कैद भुक्तानका लागि कारागार कार्यालय स्याङ्जा पठाइएको प्रहरीले जनाएको छ।