कृषि अनुदान मिलाइदिने भन्दै ५ करोड ८० लाख ठगी, दुई जना पक्राउ

876 Shares

काठमाडौं । सरकारी कृषि अनुदान मिलाइदिने प्रलोभन देखाएर ५ करोड ८० लाख रुपैयाँ ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ठगीको आरोपमा काठमाडौं महानगरपालिका–१३ ताहाचल निवासी ५२ वर्षीय तिलक बुढाथोकी भनिने श्रीकृष्ण महर्जन र ललितपुर महानगरपालिका–१४ नखिपोट निवासी ६० वर्षीय प्रेमनारायण खनाललाई पक्राउ गरेको हो। 


प्रहरीका अनुसार उनीहरूले सिंहदरबारस्थित विभिन्न मन्त्रालयका कर्मचारीसँग राम्रो चिनजान र पहुँच रहेको दाबी गर्दै कृषि फार्म सञ्चालनका लागि सरकारबाट प्राप्त हुने सहुलियत अनुदान सहजै मिलाइदिने आश्वासन दिएका थिए।

सोही प्रलोभनमा पारी जालिम सिंह महतोसहितका व्यक्तिहरूबाट विभिन्न बहानामा पटक–पटक गरी कुल ५ करोड ८० लाख रुपैयाँ ठगी गरेको आरोप उनीहरूमाथि छ। पीडितको जाहेरीका आधारमा सीआईबीले अनुसन्धान अघि बढाएको जनाएको छ। 


पक्राउ परेका दुवै जनालाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराई अनुसन्धानका लागि म्याद थप गरिएको छ। प्रहरीले उनीहरूमाथि ठगीसम्बन्धी कसुरमा थप अनुसन्धान गरिरहेको जनाएको छ। 


सरकारी अनुदान तथा सहुलियत उपलब्ध गराइदिने भन्दै व्यक्तिगत पहुँच र सम्बन्धको दाबी गरेर रकम माग्ने व्यक्तिहरूप्रति सचेत रहनुपर्ने देखिएको छ। पक्राउ परेका व्यक्तिहरूमाथि लागेको आरोप भने अनुसन्धान तथा न्यायिक प्रक्रियाबाट पुष्टि हुन बाँकी छ।

सम्बन्धित समाचार