काठमाडौं । वैदेशिक रोजगारीका लागि आकर्षक तलबमा रोमानिया र क्रोएसिया पठाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा जुम्ला घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका–५ मा बस्दै आएका ३६ वर्षीय बिरेन्द्र शाही रहेका छन्।
प्रहरीका अनुसार शाहीले रोमानिया र क्रोएसिया पठाइदिने भन्दै आठ जना पीडितबाट १८ लाख रुपैयाँ लिएका थिए। रकम लिएपछि उनी सम्पर्कविहीन भएको भन्दै पीडितहरूले प्रहरीमा उजुरी दिएका थिए।
पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले शाहीलाई भक्तपुरको सूर्यविनायक नगरपालिका–५ बाट पक्राउ गरेको हो।
पक्राउ परेका शाहीलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।
वैदेशिक रोजगारीमा जाने क्रममा अपरिचित व्यक्ति वा अनधिकृत एजेन्टलाई रकम बुझाउँदा ठगीमा पर्ने जोखिम रहेकाले सम्बन्धित निकायबाट इजाजत प्राप्त म्यानपावर कम्पनी तथा आधिकारिक प्रक्रियामार्फत मात्रै वैदेशिक रोजगारीमा जान प्रहरीले आग्रह गर्दै आएको छ।