२ अर्ब १६ करोड रुपैयाँभन्दा बढीको क्रिप्टो कारोबार गरेको आरोपमा धनुषाका युवक पक्राउ

967 Shares

काठमाडौं । दुई अर्ब १६ करोड रुपैयाँभन्दा बढीको क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा प्रहरीले धनुषाका एक २८ वर्षीय युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धनुषाको सबैला नगरपालिका–१२ का २८ वर्षीय सुनिलकुमार यादव रहेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका अनुसार उनी बाइनान्स एपमार्फत ठूलो परिमाणमा क्रिप्टोकरेन्सी कारोबार तथा अनलाइन सट्टेबाजीमा संलग्न रहेको सूचनाका आधारमा पक्राउ परेका हुन्।

प्रहरीले प्राप्त सूचनाका आधारमा निगरानी तथा प्राविधिक विश्लेषण गर्दा यादवको बाइनान्स आईडीमार्फत २ करोड ६९ लाख ९१ हजार ३८८ अमेरिकी डलर बराबरको कारोबार भएको खुलेको जनाएको छ।

प्रतिअमेरिकी डलर १५१ रुपैयाँ ५३ पैसाको विनिमय दरअनुसार उक्त रकम नेपाली रुपैयाँ २ अर्ब १६ करोड १ लाख २० हजार ८२१ हुन आउँछ।

धनुषाबाट पक्राउ गरी काठमाडौं ल्याइयो

जिल्ला प्रहरी कार्यालय धनुषासँगको समन्वयमा यादवलाई पक्राउ गरी थप अनुसन्धानका लागि काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनीविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद–५ अन्तर्गत दफा १२५ (जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने) र दफा २६२ (क)(१) (अभौतिक मुद्राको प्रयोग गर्न नहुने) सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ।

यस विषयमा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिएका छन्।

नेपालमा क्रिप्टोकरेन्सीको कारोबार तथा प्रयोगमाथि कानुनी प्रतिबन्ध रहेकाले प्रहरीले यससम्बन्धी गतिविधिमाथि निगरानी गर्दै आएको छ। पक्राउ परेका यादवमाथि लागेको आरोप भने अनुसन्धान तथा न्यायिक प्रक्रियाबाट पुष्टि हुन बाँकी छ।

सम्बन्धित समाचार