खल्ती’को कर्मचारी भन्दै अनलाइन ठगी गर्ने चार जना पक्राउ

932 Shares

भक्तपुर । डिजिटल भुक्तानी सेवा प्रदायक ‘खल्ती’को आधिकारिक कर्मचारी भएको भन्दै सर्वसाधारणलाई अनलाइन ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार पक्राउ परेकाहरूले विभिन्न मोबाइल नम्बरबाट फोन गरी आफूहरू खल्तीको आधिकारिक कर्मचारी भएको बताउने गरेका थिए। उनीहरूले सेवाग्राहीलाई विश्वासमा पारेर मोबाइलको स्क्रिन सेयर गर्न लगाउने तथा ओटीपी (वन टाइम पासवर्ड) कोड माग्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

 

प्रहरीका अनुसार ओटीपी कोड र स्क्रिन पहुँच प्राप्त गरेपछि उनीहरूले सेवाग्राहीको बैंक खाता तथा डिजिटल वालेटमा अनधिकृत पहुँच बनाई रकम अन्य व्यक्तिका खातामा स्थानान्तरण गरेर ठगी गर्ने गरेको आरोप छ।

पक्राउ पर्नेमा रौतहटको ईशनाथ नगरपालिका–३ का २३ वर्षीय सुभम कुमार झा, सोही स्थानका २२ वर्षीय पवन कुमार चौधरी, बाराको सिम्रौनगढ नगरपालिका–१० का २० वर्षीय अनिकेत यादव र रौतहटको गढीमाई नगरपालिका–१ का २१ वर्षीय रिसी गंगा रहेका छन्। उनीहरू ललितपुरको हात्तीवन तथा धापाखेल क्षेत्रमा बस्दै आएको प्रहरीले जनाएको छ।

 

प्रहरीले उनीहरूलाई असोज २१ गते ललितपुर महानगरपालिका–२८, हात्तीवनस्थित मेरो सिटी अपार्टमेन्टको १३औँ तलाबाट नियन्त्रणमा लिएको जनाएको छ।

पक्राउ परेकाहरूलाई अनलाइन ठगी तथा लागूऔषधसम्बन्धी कसुरमा अनुसन्धान गर्न भक्तपुर जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

 

ओटीपी र स्क्रिन सेयर गर्दा सावधान रहन प्रहरीको आग्रह

यस्ता ठगीबाट जोगिन प्रहरीले आफूलाई कुनै डिजिटल वालेट वा बैंकको कर्मचारी बताउने अपरिचित व्यक्तिलाई ओटीपी, पासवर्ड तथा अन्य गोप्य विवरण नदिन आग्रह गरेको छ।

त्यसैगरी, अपरिचित व्यक्तिको आग्रहमा मोबाइलको स्क्रिन सेयर नगर्न र शङ्कास्पद फोन वा सन्देश प्राप्त भएमा सम्बन्धित सेवा प्रदायकको आधिकारिक माध्यमबाट पुष्टि गर्न प्रहरीले सुझाव दिएको छ।

सम्बन्धित समाचार