रिक्त कूटनीतिक नियोगमा राजदूत पठाउने तयारी, दसैँपछि ९ नियुक्ति हुँदै

5k Shares

काठमाडौं । सरकारले दसैँपछि थप ९ देशका लागि राजदूत नियुक्त गर्ने तयारी गरेको छ। विभिन्न मुलुकमा रिक्त रहेका राजदूत पदमा नियुक्तिका लागि सरकारले प्रक्रिया अघि बढाएको हो।

यसअघि सरकारले भारत, चीन, अमेरिका, बेलायत, जर्मनी, जापान, इजरायल, स्पेन, ओमान, मलेसिया, दक्षिण कोरिया, श्रीलंका र साउदी अरेबियासहित १३ देशका लागि राजदूत सिफारिस गरिसकेको छ। सिफारिस भएका नाममाथि संसदीय सुनुवाइको प्रक्रिया अघि बढिरहेको छ।

सरकारले कूटनीतिक नियोगमा लामो समयदेखि कायम रहेको रिक्तता अन्त्य गर्दै चरणबद्ध रूपमा राजदूत नियुक्त गर्ने तयारी गरेको हो। परराष्ट्र मन्त्रालयले विभिन्न देशका लागि राजदूत नियुक्तिको गृहकार्य अघि बढाएको जनाएको छ।

नेपालका विभिन्न दूतावासमा राजदूतको पद रिक्त हुँदा कतिपय नियोग कार्यवाहक प्रमुखको भरमा सञ्चालन हुँदै आएका छन्। सरकारले महत्वपूर्ण मुलुकमा राजदूत नियुक्तिलाई प्राथमिकता दिँदै नियुक्ति प्रक्रिया अघि बढाएको हो।

राजदूत नियुक्तिसम्बन्धी कानुनी व्यवस्थाअनुसार सिफारिस भएका व्यक्तिहरूको संसदीय सुनुवाइपछि सम्बन्धित मुलुकबाट एग्रिमो प्राप्त गर्ने प्रक्रिया पूरा हुनेछ। त्यसपछि राष्ट्रपतिबाट औपचारिक रूपमा राजदूत नियुक्त हुने व्यवस्था छ।

सरकारले यसअघि सिफारिस गरेका १३ राजदूतमध्ये भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा, अमेरिकाका लागि चिरञ्जीवीजंग थापा तथा बेलायतका लागि गौरवशमशेर जबराको नाम सिफारिस गरेको थियो।

त्यस्तै, जापानका लागि ज्ञानकुमार थापा, इजरायलका लागि सुरेशकुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरचन, जर्मनीका लागि शारु जोशी, ओमानका लागि डा. पद्माक्षी राणा, मलेसियाका लागि चुडामणि खरेल, दक्षिण कोरियाका लागि प्रा. डा. संगम श्रेष्ठ, श्रीलंकाका लागि डा. मञ्जला झा र साउदी अरेबियाका लागि गिरिबहादुर सुनारको नाम सिफारिस गरिएको छ।

अब बाँकी रिक्त नियोगका लागि समेत दसैँपछि नियुक्ति प्रक्रिया अघि बढाउने सरकारको तयारी रहेको छ। यससँगै नेपालको विदेशस्थित कूटनीतिक प्रतिनिधित्वलाई थप प्रभावकारी बनाउने सरकारको लक्ष्य रहेको जनाइएको छ।

सम्बन्धित समाचार