काठमाडौँ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकाकी इन्जिनियर दिपा कार्कीसहित तीन जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारका अनुसार घुस–रिसवत लिई भ्रष्टाचार गरेको आरोपमा कार्कीसहित गोकर्णेश्वर नगरपालिका–८ की आस्मा कार्की र आशिष पौडेलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो।
अख्तियारको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले गत असोज १६ गते इन्जिनियर दिपा कार्की र आस्मा कार्कीलाई ६४ हजार रुपैयाँ घुससहित नगरपालिकाको कार्यालयबाट नियन्त्रणमा लिएको थियो।
अनुसन्धानका क्रममा घर निर्माणका लागि नगरपालिकाबाट हुने विभिन्न काममा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट घुस रकम लिएको खुलेको अख्तियारको दाबी छ। उक्त कार्यमा आशिष पौडेलसमेतको मिलेमतो रहेको आयोगले जनाएको छ।
आयोगका अनुसार दिपा कार्की र आस्मा कार्कीविरुद्ध जनही नभई संयुक्त रूपमा दुई लाख आठ हजार रुपैयाँ बिगो कायम गरिएको छ। उनीहरूविरुद्ध बिगोबमोजिम कैद तथा जरिवानाको सजाय मागदाबी गरिएको छ।
त्यस्तै, आशिष पौडेलविरुद्ध एक लाख ४४ हजार रुपैयाँ बिगो कायम गरी सोहीअनुसार कैद तथा जरिवाना सजायको मागदाबीसहित मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।
मुद्दामा लगाइएका आरोपबारे अन्तिम कानुनी निर्णय भने सम्बन्धित अदालतबाट हुन बाँकी छ।