बहुविवाह गर्ने र विदेशी पीआर भएका व्यक्ति निजामती सेवामा प्रवेश गर्न नपाउने

1.3k Shares

काठमाडौं । सरकारले निजामती सेवामा प्रवेशका लागि थप कडाइ गर्ने तयारी गरेको छ। बहुविवाह गर्ने तथा विदेशी मुलुकको स्थायी आवासीय अनुमति (पीआर) लिएका व्यक्तिलाई निजामती सेवामा प्रवेश गर्न नदिने व्यवस्था प्रस्ताव गरिएको छ।

निजामती सेवासम्बन्धी कानुनी व्यवस्थामा कर्मचारीको आचरण, वैवाहिक अवस्था तथा विदेशी आवासीय अनुमतिसम्बन्धी प्रावधानलाई स्पष्ट र कडाइका साथ लागू गर्ने विषय अघि सारिएको हो।

यसअघि पनि विदेशी मुलुकको पीआर वा आवासीय अनुमति लिएका निजामती कर्मचारीमाथि मन्त्रालयहरूले स्पष्टीकरण तथा कारबाही प्रक्रिया अघि बढाउँदै आएका छन्। निजामती सेवा ऐनअनुसार सेवामा बहाल रहँदा विदेशी मुलुकको स्थायी आवासीय अनुमति लिन वा त्यसका लागि आवेदन दिनसमेत निषेध गरिएको छ।

संविधानमा समेत विदेशको स्थायी आवासीय अनुमति लिएको नेपाली नागरिक त्यस्तो अनुमति त्याग नगरेसम्म निर्वाचन, मनोनयन वा नियुक्तिबाट पद प्राप्त गर्न योग्य नहुने व्यवस्था रहेको छ। निजामती सेवा ऐनले पनि पीआर लिएका वा त्यसका लागि आवेदन दिएका कर्मचारीलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य हुने गरी कारबाही गर्न सक्ने व्यवस्था गरेको छ।

सरकारले निजामती सेवामा प्रवेश गर्ने व्यक्तिको योग्यता तथा आचरणसम्बन्धी मापदण्डलाई स्पष्ट बनाउँदै सार्वजनिक सेवाप्रतिको उत्तरदायित्व र कानुनी अनुशासन कायम गर्ने उद्देश्यले यस्ता व्यवस्था अघि सारेको जनाएको छ।

यससँगै विदेशी नागरिकता वा आवासीय अनुमति भएका व्यक्तिलाई सार्वजनिक सेवामा नियुक्ति गर्दा आवश्यक कानुनी परीक्षण गर्नुपर्ने विषयमा पनि विगतदेखि जोड दिइँदै आएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत विदेशी नागरिकता वा आवासीय अनुमति लिएका व्यक्तिको सार्वजनिक सेवामा नियुक्ति रोक्न स्पष्ट मापदण्ड बनाउन सुझाव दिइसकेको छ।

सम्बन्धित समाचार