बागलुङ । अविरल वर्षापछि आएको पहिरोमा परी बागलुङमा मृत्यु हुनेको संख्या १३ पुगेको छ। असोज ९ देखि ११ गतेसम्म परेको वर्षापछि जिल्लाका विभिन्न स्थानमा गएको पहिरोमा उनीहरूको मृत्यु भएको हो।
पहिरोमा परी बेपत्ता तमानखोला गाउँपालिका–४ सन्तरकी ५३ वर्षीया पुनसरा विकको शव बुधबार फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईंले जानकारी दिए।
प्रहरीका अनुसार पहिरोले घर पुरिँदा निसीखोला गाउँपालिकामा पाँच, तमानखोला गाउँपालिकामा पाँच र ताराखोला गाउँपालिकामा तीन जनाको मृत्यु भएको छ।
तमानखोला गाउँपालिकामा मृत्यु हुनेमा बुद्धिराज घर्ती, भीमदेवी घर्ती, हस्तवीर श्रीपाली, उडिसरा श्रीपाली र पुनसरा विक रहेका छन्।
केही दिनयता परेको लगातार वर्षाका कारण बागलुङका विभिन्न स्थानमा पहिरो तथा बाढीको जोखिम बढेको थियो। पहिरोले घर तथा भौतिक संरचनामा समेत क्षति पुर्याएको छ।
प्रहरी र स्थानीय तहले प्रभावित क्षेत्रमा खोज तथा उद्धारका साथै क्षतिको विवरण संकलन गरिरहेका छन्।