काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रहरीले मध्यरातमा निवासबाट नियन्त्रणमा लिएको विषय प्रतिनिधिसभामा उठेको छ।
सुरक्षा खतरा रहेको भन्दै प्रहरीले जबरालाई महाराजगञ्जस्थित निवासबाट नियन्त्रणमा लिएर टेकुस्थित उपत्यका अपराध अनुसन्धान कार्यालयमा लगेको थियो। प्रहरीले भने उनलाई पक्राउ नभई सुरक्षाका लागि कार्यालयमा ल्याइएको दाबी गरेको थियो। पछि आइतबार दिउँसो उनलाई परिवारको जिम्मा लगाइएको थियो।
जबरालाई नियन्त्रणमा लिँदा पक्राउ पुर्जी जारी गरिएको थियो वा थिएन तथा सुरक्षा खतरा भए निवासमै सुरक्षा व्यवस्था गर्न सकिने अवस्था हुँदाहुँदै प्रहरी कार्यालयमा किन लगियो भन्ने प्रश्न उठेको छ। कानुन व्यवसायीहरूले समेत घटनाको कानुनी प्रक्रिया र आधारबारे प्रश्न गरेका छन्।
यसअघि पनि जबराको नियन्त्रणको विषयमा विभिन्न क्षेत्रबाट प्रतिक्रिया आएको थियो। पक्राउको प्रक्रिया, सुरक्षा खतरा र राज्यका निकायले अपनाएको विधिबारे सार्वजनिक रूपमा बहस भइरहेको छ।