पोखरा । लगातारको वर्षासँगै आएको पहिरोले मनाङको चामे गाउँपालिका क्षेत्रमा मर्स्याङ्दी नदी थुनिएपछि चामे बजारका बासिन्दा सुरक्षित स्थानतर्फ लागेका छन् । ठाडो खोलामा आएको पहिरोले नदी थुनिएपछि बजार क्षेत्रमा त्रास फैलिएको हो ।
चामे गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर घलेका अनुसार मर्स्याङ्दी नदी थुनिएपछि चामे बजारका अधिकांश घर खाली भएका छन् । स्थानीयहरू जंगल, डाँडा तथा अन्य सुरक्षित स्थानतर्फ गएका छन् ।
‘ठाडो खोलामा आएको पहिरोले सिंगो चामे बजारकै मानिसको भागाभाग भयो । सबै जंगलतिर उक्लिँदै छन्,’ अध्यक्ष घलेले बताए । उनका अनुसार चामेकै विद्यालयनजिक ठाडो खोलामा आएको पहिरोले मर्स्याङ्दी थुनेको हो ।
लगातारको वर्षाका कारण चामे आसपासका ठाडो खोला, घट्टे खोला र नार खोलालगायत स्थानीय खोलामा समेत बाढी आएको छ । खोलामा पानीको बहाव तीव्र भएकाले वारपार गर्न सक्ने अवस्था नरहेको मनाङका प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालले बताए ।
यसअघि बिहान हिमलुङ हिमाल क्षेत्रमा गएको हिमपहिरोमा १० जना बेपत्ता भएकोमा दुई जनाको शव चामे ल्याइएको छ । घटनास्थलबाट अन्य १० जनासँग सम्पर्क स्थापित भएको जानकारी प्राप्त भए पनि उनीहरूको अवस्थाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रजिअ खनालले बताए ।
बाढीका कारण चामे बजारका पाँच घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । चामे–बेँसीसहर सडकसमेत अवरुद्ध भएको छ । विद्युत् सेवा प्रभावित हुँदा मनाङमा थप समस्या भएको प्रशासनले जनाएको छ । उपल्लो मनाङसँगको सम्पर्कसमेत कठिन बनेको छ ।

मर्स्याङ्दी नदीको बहाव बढेपछि तल्लो तटीय क्षेत्रमा समेत जोखिम बढेको छ । नासों गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङका अनुसार ताल गाउँका १२ घर डुबानमा परेका छन् । चामेमा मर्स्याङ्दी थुनिएपछि ताल गाउँ, धारापानीलगायतका तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा बस्न भनिएको छ ।
चामे आसपासमा ठूलो संख्यामा स्थानीय तथा सुरक्षाकर्मीसमेत सुरक्षित स्थानमा बसेका छन् । प्रजिअ खनालका अनुसार नयाँ भैरवी गणमा मात्रै करिब डेढ सय मानिस आश्रय लिएर बसेका छन् ।
स्थानीयमा अहिलेको घटनासँगै २०७८ सालको बाढीको त्राससमेत दोहोरिएको छ । २०७८ जेठ ३१ र असार १ गते आएको बाढीले मनाङमा ठूलो भौतिक क्षति पुर्याएको थियो । चामे र आसपासका क्षेत्रमा मर्स्याङ्दी तथा स्थानीय खोलाको बाढीले घर, सडक, पुल, सरकारी कार्यालय तथा अन्य संरचनामा क्षति पुगेको थियो ।
त्यस घटनापछि पनि नदी तथा खोलाको किनारमा रहेका बस्ती जोखिममा रहेको भन्दै सावधानी अपनाउन सुझाव दिइँदै आएको थियो । अहिलेको घटनापछि स्थानीय प्रशासनले नदी तथा खोलाको आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउँदै सुरक्षित स्थानमा रहन आग्रह गरेको छ ।