चोरीका गहना खरिद गरेको आरोपमा रामेछापमा दुई सुनचाँदी व्यवसायी पक्राउ

1.1k Shares

रामेछापमा चोरीका सुनचाँदीका गहना खरिद–बिक्री गरेको आरोपमा प्रहरीले दुई जना सुनचाँदी व्यवसायीलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार पक्राउ पर्नेमा मन्थली नगरपालिका–१ स्थित दिप लक्ष्मी सुनचाँदी पसलका सञ्चालक ३३ वर्षीय डिलबहादुर रसाइली र सुविना सुनचाँदी पसलकी सञ्चालक २८ वर्षीया निशा विश्वकर्मा रहेका छन्।

प्रहरीका अनुसार अस्मिता श्रेष्ठ माझीको घरबाट सुनका गहना चोरी भएको उजुरीपछि अनुसन्धान अघि बढाइएको थियो। अनुसन्धानका क्रममा मुख्य आरोपित मैया कार्की पक्राउ परेकी थिइन्। उनको बयानका आधारमा चोरीका गहना मन्थलीका दुई सुनचाँदी पसलमा बिक्री गरिएको खुलेको प्रहरीले जनाएको छ।

खानतलासीका क्रममा रसाइलीको पसलबाट पीडितको कानबाट झिकिएको ४२ लाल २ प्वाइन्ट तौलको सुनको दुईवटा रिङ बरामद भएको छ।

पक्राउ परेका दुवै जनालाई चोरीको माल खरिद–बिक्रीसम्बन्धी कसुरमा अनुसन्धान गर्न रामेछाप जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी हिरासतमा राखिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ। 

 
 
 
सम्बन्धित समाचार