बाढीपहिरोको जोखिम बढेपछि लमजुङ खण्डमा राति गाडी नचलाइने

1.1k Shares

लमजुङ । बाढीपहिरोको जोखिमलाई दृष्टिगत गर्दै स्थानीय प्रशासनले बेँसीसहर–चामे सडकअन्तर्गत लमजुङ खण्डमा राति सवारीसाधन सञ्चालनमा रोक लगाएको छ।

जिल्ला प्रशासन कार्यालय लमजुङले आज बेलुका ७ बजेदेखि असोज १२ गते बिहान ६ बजेसम्म उक्त सडकखण्डमा रातिको समयमा सवारीसाधन सञ्चालन नगर्ने निर्णय गरेको हो।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालका अनुसार पछिल्लो समय भइरहेको भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्नसक्ने भएकाले यात्रु तथा सवारीसाधनको सुरक्षालाई ध्यानमा राखेर रातिको समयमा आवागमन रोकिएको हो।

प्रशासनले वर्षाका कारण सडकमा पहिरो खस्ने, सडक अवरुद्ध हुने तथा अन्य विपद्जन्य घटना हुनसक्ने अवस्थालाई ध्यानमा राख्दै उक्त निर्णय गरेको जनाएको छ।

प्रमुख जिल्ला अधिकारी खनालले जिल्ला प्रशासन कार्यालय विपद् पूर्वतयारीमा जुटिरहेको जानकारी दिँदै सम्भावित जोखिम न्यूनीकरण तथा उद्धारका लागि आवश्यक तयारी भइरहेको बताए।

प्रशासनले सडकको अवस्था र मौसममा सुधार आएमा तथा जोखिम कम भएमा आवश्यकताअनुसार निर्णय पुनरावलोकन गर्न सक्ने जनाएको छ।

सम्बन्धित समाचार