फ्लाई दुबईले सुरु गर्‍यो पोखरा–दुबई नियमित उडान, पर्यटन व्यवसायी उत्साहित

1.7k Shares

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईले बुधबारदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु गर्दैछ।

विमानस्थल सञ्चालनमा आएको लामो समयसम्म नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेको अवस्थामा फ्लाई दुबईले दैनिक उडान सुरु गर्न लागेपछि पोखराका पर्यटन व्यवसायी, उद्योगी तथा सर्वसाधारण उत्साहित भएका छन्।

विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक पूर्वाधार तथा अन्य तयारी पूरा भइसकेको छ। फ्लाई दुबईको विमान बुधबार साँझ ६ः१५ बजे पोखरा अवतरण गर्ने र यात्रु लिएर साँझ ७ः१५ बजे दुबईका लागि प्रस्थान गर्नेछ। विमानस्थलमा विमानलाई पानीको फोहराले स्वागत गर्ने तयारी गरिएको छ।

अध्यागमन, भन्सार, कार्गोलगायतका सेवा सञ्चालनका लागि पनि विमानस्थल तयार रहेको निरौलाले बताए। उनका अनुसार यसअघि केही वायु सेवा कम्पनीले पोखराबाट अन्तर्राष्ट्रिय उडान गरे पनि त्यसले निरन्तरता पाउन सकेको थिएन। अहिले फ्लाई दुबईको दैनिक उडान सुरु हुन लागेकाले विमानस्थल व्यवस्थापन उत्साहित छ।

फ्लाई दुबईबाट पोखरा आउने तथा पोखराबाट दुबई जाने यात्रु र पर्यटकलाई स्थानीय पर्यटन व्यवसायीले खादा तथा मालाले स्वागत र बिदाइ गर्ने तयारी गरेका छन्।

पोखरा विमानस्थल भन्सार कार्यालयका प्रमुख हरि भण्डारीले यात्रुको जाँचपास, राजस्व संकलन तथा निकासी–पैठारीलगायत भन्सारसम्बन्धी कामका लागि आवश्यक तयारी पूरा भएको बताए।

पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले दुबई विश्वव्यापी हवाई ट्रान्जिट हब भएकाले पोखरा–दुबई उडानबाट थप अन्तर्राष्ट्रिय गन्तव्यमा पुग्न सहज हुने बताएका छन्। उनका अनुसार फ्लाई दुबईले १२० भन्दा बढी गन्तव्यमा उडान गर्ने भएकाले यसले पोखराको अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तारमा सहयोग पुर्‍याउन सक्छ।

रोजगारी तथा अध्ययनका लागि नेपाली युवाहरू दुबई जाने क्रम रहेकाले पोखराबाटै नियमित उडान सुरु हुँदा यात्रुलाई समेत सहज हुने अपेक्षा गरिएको छ। उडान सञ्चालनका लागि आवश्यक सुरक्षा प्रबन्ध पनि मिलाइएको जिल्ला सुरक्षा समितिले जनाएको छ।

सम्बन्धित समाचार