ठूलो ढुंगा फुटाएर हटाएपछि बेँसीसहर–चामे सडक खुल्यो

876 Shares

लमजुङ । पहिरोका कारण तीन दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक शुक्रबार बिहानदेखि सञ्चालनमा आएको छ। मनाङको नासोँ गाउँपालिका–३ खोत्रेमा गएको पहिरो हटाएपछि सडक सञ्चालनमा आएको डुम्रे–बेँसीसहर–चामे सडक आयोजनाले जनाएको छ।

खोत्रेमा बुधबार बिहान पहिरोसँगै ठूलो ढुंगा खसेपछि सडक अवरुद्ध भएको थियो। सडकमा खसेको ढुंगा निकै ठूलो भएकाले सामान्य उपकरणबाट हटाउन कठिन भएपछि नेपाली सेनाले बम विस्फोट गराएर ढुंगा फुटाएको हो।

डुम्रे–बेँसीसहर–चामे सडक आयोजनाका सूचना अधिकारी नवीन विष्टका अनुसार बिहीबार पहिलोपटक बम विस्फोट गराउँदा ढुंगा पूर्ण रूपमा फुट्न सकेको थिएन। त्यसपछि शुक्रबार पुनः विस्फोट गराएर ढुंगा फुटाएपछि पहिरो पन्छाइएको हो।

सडक खुलेसँगै साना सवारीसाधन सञ्चालनमा आएका छन्। सडक अवरुद्ध हुँदा मनाङतर्फ जाने यात्रु तथा स्थानीयवासीलाई आवतजावतमा समस्या भएको थियो। सडक खुलेपछि दैनिक आवतजावत सहज भएको छ।

ठूला सवारीसाधन भने तत्कालै सञ्चालनमा आउन नसक्ने आयोजनाका सूचना अधिकारी विष्टले बताएका छन्। सडकको अवस्था हेरेर ठूला सवारीसाधन सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।

करिब ६५ किलोमिटर लामो बेँसीसहर–चामे सडक मनाङलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने मुख्य मार्ग हो। यो सडक मनाङवासीको आवतजावतका साथै दैनिक उपभोग्य सामग्री, निर्माण सामग्री ढुवानी र पर्यटकीय गतिविधिका लागि समेत महत्वपूर्ण मानिन्छ।

मनसुनजन्य पहिरोका कारण हिमाली जिल्लातर्फ जाने सडकमा पटक–पटक अवरोध हुँदै आएको छ। यस्तो अवस्थामा सडक खुलाउन पहिरो पन्छाउनुका साथै ठूला ढुंगा हटाउन विस्फोटक पदार्थ प्रयोग गर्नुपर्ने अवस्था देखिएको छ।

सम्बन्धित समाचार