पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि नियमित अन्तर्राष्ट्रिय उडान सुरु हुने भएको छ। फ्लाइ दुबईको दुबई–पोखरा–दुबई नियमित उडानअन्तर्गत पहिलो जहाज आगामी असोज ७ गते (सेप्टेम्बर २३) साँझ ६:१५ बजे पोखरा विमानस्थलमा अवतरण गर्ने कार्यतालिका सार्वजनिक भएको छ।
पहिलो उडानमा आउने विमान र यात्रुलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पानीको फोहरासहित स्वागत गर्ने तयारी गरिएको छ। दुबईबाट पोखरा आएको विमान यात्रु लिएर सोही दिन साँझ ७:१५ बजे दुबईतर्फ फर्किनेछ।
विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतका अनुसार फ्लाइ दुबईले आवश्यकताअनुसार एयरबस ३१९ र ३२० विमान आलोपालो प्रयोग गर्नेछ। एयरबस ३१९ मा करिब १४० देखि १५० तथा एयरबस ३२० मा १६० देखि १८० यात्रु अट्ने क्षमता छ।
पोखरा–दुबई उडानका क्रममा यात्रुसँगै कार्गोसमेत लैजाने तयारी छ। फ्लाइ दुबईले दैनिक साँझ ६:१५ बजे पोखरा अवतरण र ७:१५ बजे दुबईका लागि प्रस्थान गर्ने तालिका बनाएको छ। पहिलो उडान भने निर्धारित समयभन्दा केही अगाडि पनि हुनसक्ने विमानस्थलले जनाएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले गत जेठ २५ गते फ्लाइ दुबईलाई दुबई–पोखरा–दुबई उडानका लागि अनुमति दिएको थियो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको तीन वर्षभन्दा बढी समय भए पनि नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको थिएन। त्यसकारण फ्लाइ दुबईको नियमित उडानलाई पोखराको अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तारका दृष्टिले महत्वपूर्ण मानिएको छ।
फ्लाइ दुबईका नेपालस्थित महाप्रबन्धक नवराज शाहीले काठमाडौँबाट हुने उडानको तुलनामा पोखराबाट दुबई जाने टिकट करिब पाँच हजार रुपैयाँसम्म सस्तो पर्ने बताएका छन्। उनका अनुसार कम्पनीले विश्वका १२० भन्दा बढी गन्तव्यमा उडान गर्दै आएको छ र पोखरा–दुबई उडान प्रवर्द्धनका क्रममा यात्रु तथा साझेदार संस्थालाई विभिन्न सुविधा र छुट उपलब्ध गराइनेछ।
यो उडान फ्लाइ दुबई र इमिरेट्स एयरलाइन्सबीचको रणनीतिक कोडसेयर साझेदारीअन्तर्गत सञ्चालन हुनेछ। यसबाट पोखराबाट दुबई हुँदै अष्ट्रेलिया, युरोप, अमेरिका तथा अन्य अन्तर्राष्ट्रिय गन्तव्यमा जाने यात्रुले एउटै टिकटमार्फत सहज यात्रा गर्न सक्ने अपेक्षा गरिएको छ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले लामो प्रतीक्षापछि पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु हुन लागेकाले पर्यटन व्यवसायी उत्साहित भएको बताए। उनले उडानलाई दीर्घकालीन रूपमा सफल बनाउन पोखरेली पर्यटन व्यवसायी एकताबद्ध भएर लाग्ने बताए।
नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य सन्तोष पोखरेलले पोखरालाई विश्वास गरेर फ्लाइ दुबई आएको भन्दै उडानलाई सफल बनाउने जिम्मेवारी सबै पक्षको भएको बताए। उनका अनुसार उडानलाई दिगो बनाउन सम्भावित चुनौतीलाई अवसरमा बदल्न आवश्यक छ।
यसैबीच, पोखरा महानगरपालिका र फ्लाइ दुबईबीच पर्यटन प्रवर्द्धन, गन्तव्यको बजारीकरण तथा अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तारलगायत क्षेत्रमा सहकार्य गर्ने समझदारीसमेत भएको छ।
फ्लाइ दुबईले सुरुमा एक महिनाका लागि दैनिक एक उडान गर्ने घोषणा गरे पनि सन् २०२७ मार्च २६ सम्मको बुकिङ खुला गरिसकेको जनाएको छ। यसले पोखराको अन्तर्राष्ट्रिय उडान दीर्घकालीन रूपमा सञ्चालन हुने सम्भावना बढाएको पर्यटन क्षेत्रका व्यवसायीको बुझाइ छ।
पोखरा–दुबई सिधा उडानबाट गण्डकी प्रदेश तथा आसपासका यात्रुलाई रोजगारी, अध्ययन, वैदेशिक यात्रा र पर्यटनका लागि खाडी मुलुकसहित विश्वका विभिन्न गन्तव्यमा पुग्न सहज हुनेछ। त्यस्तै, दुबई हुँदै विश्वका अन्य मुलुकबाट विदेशी पर्यटकलाई समेत पोखरा आउन सहज हुने अपेक्षा गरिएको छ।
पोखराबाट यसअघि सन् २०२५ मार्चमा हिमालय एयरलाइन्सले ल्हासाका लागि नियमित व्यावसायिक उडान सुरु गरेको थियो। तर यात्रु सङ्ख्या न्यून भएपछि उक्त सेवा हाल स्थगित छ। पोखरा–दुबई उडान भने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुन लागेको दोस्रो नियमित व्यावसायिक अन्तर्राष्ट्रिय उडान हुनेछ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई नेपालको तेस्रो अन्तर्राष्ट्रिय हवाई प्रवेशद्वारका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। काठमाडौँमा केन्द्रित हवाई चाप घटाउन, पर्यटन विस्तार गर्न तथा व्यापारिक गतिविधि बढाउन पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान आवश्यक रहेको माग लामो समयदेखि उठ्दै आएको थियो। रासस