कपिलवस्तु। कपिलवस्तु प्रहरीले छुट्टाछुट्टै स्थानबाट ठूलो परिमाणमा लागुऔषध बरामद गरेको छ। प्रहरीले कृष्णनगर र चन्द्रौटाबाट चरेस तथा अफिमजस्तो देखिने पदार्थसहित ६ जनालाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार कृष्णनगर नगरपालिका–२ स्थित पुरानो बसपार्कमा भारततर्फ जाँदै गरेका यात्रुलाई चेकजाँच गर्ने क्रममा पाँच जना पक्राउ परेका हुन्। उनीहरूको साथबाट चरेसजस्तो देखिने कालो गिलो पदार्थ ५ किलो २२५ ग्राम तथा अफिमजस्तो देखिने गिलो पदार्थ १० किलो बरामद भएको छ।
पक्राउ पर्नेमा दाङको राजपुर गाउँपालिका–३ की ३४ वर्षीया रतिमा रोका, कपिलवस्तुको विजयनगर गाउँपालिका–४ ज्योतिनगरकी ४५ वर्षीया फनिसरा सारु र ५६ वर्षीया नन्सरी घर्ती मगर रहेका छन्।
त्यस्तै, पर्साको ठोरी गाउँपालिका–२ की ४८ वर्षीया चुमा लामिछाने तथा दाङको राजपुर गाउँपालिका–३ की ४३ वर्षीया विमला पुन पनि पक्राउ परेका छन्। उनीहरूको साथबाट पाँच थान मोबाइलसमेत बरामद भएको प्रहरीले जनाएको छ।
यस्तै, शिवराज नगरपालिका–५ चन्द्रौटास्थित सुन्दर टोलबाट साउन ६ गते १८ वर्षीय अनुप नेपाली पक्राउ परेका थिए। उनको साथबाट ५८० मिलिग्राम खैरो हिरोइनजस्तो देखिने लागुऔषध र एक थान मोबाइल बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरीले बरामद भएका पदार्थ लागुऔषध भएको पुष्टि गर्न आवश्यक परीक्षण तथा अनुसन्धान अघि बढाएको जनाएको छ।
पक्राउ परेका सबैमाथि लागुऔषधसम्बन्धी कसुरमा जिल्ला अदालत कपिलवस्तुबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहले जानकारी दिनुभयो।
प्रहरीले पछिल्लो समय भारततर्फ हुने अवैध लागुऔषध ओसारपसार नियन्त्रणका लागि सीमावर्ती क्षेत्रमा निगरानी र चेकजाँचलाई कडाइ गरेको जनाएको छ।