महोत्तरी, भदौ ८ गते। विवाह भएको दुई महिना नपुग्दै महोत्तरीमा एक युवतीको मृत्यु भएपछि दाइजोको विषयलाई लिएर विवाद चर्किएको छ। पिपरा गाउँपालिका–५ मा भारतको सुरसण्ड निवासी २२ वर्षीया शिवानी राउतको मृत्यु भएको हो। माइती पक्षले भने ससुराली परिवारले दाइजोका लागि दिएको यातनाका कारण शिवानीको मृत्यु भएको आरोप लगाएको छ।
मृतककी आमा रुवी देवीले मोटरसाइकल, सुनलगायतका थप दाइजो नदिएको भन्दै छोरीलाई ससुराली पक्षले पटक–पटक शारीरिक तथा मानसिक यातना दिने गरेको आरोप लगाउनुभएको छ।
रुवीका अनुसार महोत्तरीको जलेश्वर नगरपालिका–८, रमौलस्थित मामाघरमा मुण्डन कार्यक्रममा सहभागी हुन आएका बेला उहाँ छोरीलाई भेट्न पिपरास्थित ससुराली पुग्नुभएको थियो। भेटका क्रममा शिवानीले आफूलाई मोटरसाइकल र सुन नदिएको भन्दै ससुराली पक्षले मानसिक तथा शारीरिक यातना दिने गरेको बताएकी थिइन्।
मुण्डन कार्यक्रममा छोरीलाई पनि सहभागी गराउन पठाइदिन आग्रह गर्दा ससुराली पक्षले मोटरसाइकल र सुन नदिएसम्म कतै जान नदिने जवाफ दिएको रुवीको भनाइ छ।
“दिउँसो करिब २ बजे छोरीलाई भेटेर म त्यहाँबाट आएँ। करिब चार घण्टापछि साँझ छोरीको मृत्यु भएको खबर पाएँ,” रुवीले भन्नुभयो।
त्यसपछि आफूहरू प्रादेशिक अस्पताल जनकपुर पुगेको र त्यहाँ शिवानीको घाँटीमा निलडाम देखिएको रुवीले बताउनुभयो। उहाँले ससुराली पक्षले घाँटी थिचेर छोरीको हत्या गरेको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय महोत्तरीमा जाहेरी दिनुभएको छ।
जाहेरीमा मृतकका पति सजन राउत, देवरद्वय प्रेम राउत र निराजन राउत तथा सासू नूतन देवीलाई विपक्षी बनाइएको छ।
जाहेरीअनुसार शिवानीको विवाह सजनसँग २०८३ साल असार १६ गते भएको थियो। विवाहका क्रममा आफ्नो क्षमताअनुसार दाइजो तथा अन्य सामग्री दिएको भए पनि विवाहपछि सुनसहित थप दाइजो र मोटरसाइकल माग गर्दै ससुराली पक्षले शिवानीलाई शारीरिक तथा मानसिक यातना दिने गरेको आरोप लगाइएको छ।
मृतकका मामा तथा जलेश्वर नगरपालिका–८ निवासी दिपुकुमार कापरका अनुसार भदौ ४ गते राति करिब ७ बजे शिवानीले आफूलाई श्रीमान्, सासू तथा देवरहरूले मोटरसाइकल ल्याउन दबाब दिने, घाँटी दबाउने, कुटपिट गर्ने र मानसिक यातना दिने गरेको बताएकी थिइन्।
कापरले दाइजोकै कारण शिवानीको मृत्यु भएको दाबी गर्नुभयो। उनका अनुसार ससुराली पक्षले शिवानीले झुन्डिएर आत्महत्या गरेको बताए पनि शवको अवस्था हेर्दा परिवारलाई शंका लागेको थियो।
शवको पोस्टमार्टम प्रादेशिक अस्पताल जनकपुरमा गरिएको र थप परीक्षणका लागि धरान अस्पताल पठाइएको कापरले जानकारी दिनुभयो।
माइती पक्षले शिवानीले दाइजो र मोटरसाइकलका लागि निरन्तर यातना सहनुपरेको र त्यसकै कारण मृत्यु भएको आरोप लगाएको छ। घटनामा प्रहरीले पति र सासूसहित तीन जनालाई अनुसन्धानका लागि पक्राउ गरेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेले घटनासम्बन्धी जाहेरी प्राप्त भएको र घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जानकारी दिनुभयो।
प्रहरीले अनुसन्धान तथा पोस्टमार्टमलगायतका प्रक्रियाबाट मृत्युको वास्तविक कारण खुल्ने जनाएको छ।