काठमाडौं । दुई वर्षीया बालिका गरिमा चौधरीको हत्या घटनाका मुख्य आरोपी भनिएका नाबालकको प्रहरीकै उपस्थितिमा घटनाबारे सोधपुछ गरिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटनाले नयाँ मोड लिएको छ ।
सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा हत्कडी लगाइएका नाबालक आरोपीसँग एक व्यक्तिले घटनाबारे सोधपुछ गरेको देखिन्छ । सो क्रममा आरोपीले बालिकामाथि भएको आपराधिक घटनामा आफू मात्र नभई थप एक व्यक्ति पनि संलग्न रहेको दाबी गरेका छन् ।
आरोपीले सिमरा चोकमा घर भएका प्रदीप खड्काको योजना र संलग्नतामा घटना भएको दाबी गरेको भिडियोमा देखिन्छ । उनले प्रदीपकै उक्साहटमा बालिकालाई चकलेटको प्रलोभन देखाएर एउटा घरमा लगिएको बताएका छन् ।
भिडियोमा आरोपीले बालबालिका खेलिरहेको स्थानमा प्रदीप पनि रहेको र आफू चकलेट लिएर आएपछि बालिकालाई त्यसको प्रलोभन देखाएर घरतर्फ लगेको बताएका छन् । उनले उक्त घर कसको हो भन्ने आफूलाई थाहा नभएको बताएका छन् ।
आरोपीका अनुसार त्यसपछि आफू र प्रदीप दुवैबाट बालिकामाथि आपराधिक हर्कत भएको थियो । बालिका बेहोस भएपछि प्रदीप त्यहाँबाट भागेको र आफूले बालिकालाई डोरीले बाँधेर तन्नामा बेरेपछि घरको ढोका बन्द गरेर हिँडेको उनले बताएका छन् ।
उच्च प्रहरी स्रोतका अनुसार सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियो वास्तविक रहेको बताइएको छ । पक्राउपछि आरोपी नाबालकलाई मेडिकल परीक्षणका लागि कलैया अस्पताल लगिएको र त्यही क्रममा चिकित्सक नभएको समयमा अनौपचारिक रूपमा सोधपुछ गरिएको स्रोतको भनाइ छ ।
भिडियोमा प्रहरीको उपस्थितिसमेत देखिन्छ । हतियार बोकेका प्रहरी र सिभिल पोसाकमा रहेका एक व्यक्तिले मोबाइलबाट भिडियो खिचेको देखिन्छ ।
तर सोधपुछ गर्ने व्यक्तिको अनुहार भिडियोमा देखिएको छैन । स्रोतका अनुसार उनी प्रहरी नभई अस्पतालका स्वास्थ्यकर्मी हुन् । नाबालकको मानसिक अवस्था बुझ्ने क्रममा सोधपुछ गरिएको दाबी गरिएको छ ।
भिडियोमा सोधपुछका क्रममा आरोपीलाई खाना खुवाउने आश्वासनसमेत दिइएको सुनिन्छ । त्यसपछि उनले घटनाका विषयमा खुलेर बोल्न थालेको देखिन्छ ।
भिडियो सार्वजनिक भएपछि प्रहरीभित्र पनि घटनाबारे आन्तरिक खोजी सुरु भएको छ । प्रहरी प्रधान कार्यालयले समेत घटनालाई गम्भीर रूपमा लिएको स्रोतको भनाइ छ ।
विशेषगरी नाबालक आरोपीसँग प्रहरीको उपस्थितिमा गरिएको भनिएको सोधपुछको भिडियो कसरी बाहिरियो भन्ने विषयमा छानबिन हुन सक्ने बताइएको छ । भिडियोमा देखिएका प्रहरीमाथि समेत आवश्यक कारबाही हुन सक्ने स्रोतले जनाएको छ ।
यस घटनामा प्रहरीले यसअघि सार्वजनिक रूपमा प्रदीप खड्का नाम गरेका व्यक्तिको संलग्नता पुष्टि गरेको थिएन । घटनामा पक्राउ पर्ने दोस्रो व्यक्ति प्रोग्रेस चौधरी रहेको प्रहरीले जनाएको छ ।
नाबालक आरोपीले भिडियोमा प्रदीप खड्काको नाम लिएपछि उनको भूमिकाबारे पनि चासो बढेको छ । यद्यपि, आरोपीले भिडियोमा लगाएका आरोपको स्वतन्त्र पुष्टि भइसकेको छैन ।
नाबालकसँग गरिएको सोधपुछको भिडियो सार्वजनिक हुनु आफैंमा संवेदनशील विषय भएकाले यसको सत्यता, भिडियो कसरी बाहिरियो र त्यसमा देखिएका व्यक्तिको भूमिकाबारे आधिकारिक अनुसन्धानबाट मात्रै थप तथ्य खुल्ने अपेक्षा गरिएको छ ।