बाराको बालिका हत्या प्रकरणमा किशोरको भिडियो भाइरल, प्रहरी अनुसन्धान प्रोटोकलमाथि प्रश्न

1.6k Shares

चितवन । बारामा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनामा पक्राउ परेका भनिएका एक किशोरको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरी अनुसन्धानको गोपनीयता र प्रोटोकलमाथि प्रश्न उठेको छ।

भिडियोमा ती किशोरको हातमा हतकडी लगाइएको देखिन्छ भने उनको अघिपछि दुई प्रहरी कर्मचारीसमेत देखिएका छन्। भिडियोमा किशोरलाई घटनासँग सम्बन्धित विभिन्न प्रश्न सोधिएको सुनिन्छ। संवेदनशील आपराधिक घटनामा अभियुक्तको गोपनीयता कायम गर्नुपर्ने कानुनी व्यवस्था हुँदाहुँदै भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको हो।

उक्त भिडियो कुनै सञ्चारमाध्यमका पत्रकारले खिचेको नभई पक्राउपछि स्वास्थ्य परीक्षणका लागि अस्पताल लैजाने क्रममा चिकित्सकहरूले प्रश्न सोध्दाको रहेको प्रहरीले जनाएको छ।

बाराका प्रहरी प्रमुख एसपी नरेन्द्र कुँवरका अनुसार पक्राउ परेका किशोरलाई मेडिकल परीक्षणका लागि अस्पताल लैजाँदा दुई जना ड्युटी अफिसर सँगै थिए। सो क्रममा चिकित्सकहरूले किशोरलाई प्रश्न गरेका थिए। त्यही क्रममा खिचिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको उहाँले बताउनुभयो।

तर, नेपाल प्रहरीले संवेदनशील आपराधिक घटनाको अनुसन्धानका क्रममा अभियुक्तको अडियो वा भिडियो सार्वजनिक नगर्ने प्रोटोकल रहेको जनाएको छ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक अबि नारायण काफ्लेले उक्त भिडियो सार्वजनिक हुनु प्रहरीको अनुसन्धान प्रोटोकलविपरीत भएको स्वीकार गर्नुभएको छ। उहाँका अनुसार यस्ता घटनामा अनुसन्धानका क्रममा संकलन गरिएका अडियो तथा भिडियो प्रहरीले सार्वजनिक गर्दैन। अभियुक्तलाई सार्वजनिक गर्दा समेत अनुहार ढाक्ने व्यवस्था रहेको उहाँले बताउनुभयो।

‘यस्तो भिडियो सार्वजनिक गर्न मिल्दै मिल्दैन । यो हाम्रो प्रोटोकलको उल्लंघन हो,’ उहाँले भन्नुभयो।

प्रवक्ता काफ्लेका अनुसार आइतबार भिडियो सामाजिक सञ्जालमा फैलिएको जानकारी पाएपछि मधेश प्रदेश प्रहरी प्रमुखमार्फत घटनाबारे जिल्लामा बुझ्ने काम भइरहेको छ। प्रहरी प्रधान कार्यालयले समेत छुट्टै टोली बनाएर घटनाबारे जानकारी संकलन तथा छानबिन गरिरहेको उहाँले बताउनुभयो।

मुलुकी अपराध संहिताले अपराधका घटनामा पीडितसँगै अभियोग लागेका व्यक्तिको गोपनीयताको विषयलाई समेत सम्बोधन गरेको छ। यस्तो अवस्थामा संवेदनशील घटनाका अभियुक्तसँग सम्बन्धित भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि अनुसन्धान प्रक्रियाको गोपनीयता, अभियुक्तको अधिकार र प्रहरीको जिम्मेवारीबारे थप प्रश्न उठेको छ।

प्रहरीले भिडियो कसरी बाहिरियो र कसको संलग्नतामा सामाजिक सञ्जालसम्म पुग्यो भन्ने विषयमा समेत अनुसन्धान गरिरहेको जनाएको छ।

सम्बन्धित समाचार