शंखमुल होस्टेल हत्याकाण्डमा तीन जना प्रहरी नियन्त्रणमा

1k Shares

काठमाडौं । शंखमुलस्थित भ्याली ब्वाइज होस्टेलमा धारिलो हतियार प्रहार गरी २२ वर्षीय बसन्त कालाथोकीको हत्या गरेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बारा, कलैया उपमहानगरपालिका–३ का १९ वर्षीय प्रमित पटेल र महोत्तरी, लोहरपट्टी नगरपालिका–६ का २३ वर्षीय होस्टेल सञ्चालक आलोक ठाकुर रहेका छन्। पटेललाई जिल्ला प्रहरी कार्यालय मकवानपुरको समन्वयमा भैँसेबाट तथा ठाकुरलाई काठमाडौंको बुद्धनगरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

यसअघि प्रहरीले सोही होस्टेलमा बस्दै आएका बारा, कलैया–३ का १९ वर्षीय शेखर यादवलाई नियन्त्रणमा लिइसकेको थियो।

प्रहरीका अनुसार शुक्रबार बिहान करिब १० बजे होस्टेलको कोठा नम्बर १०९ मा बस्दै आएका कालाथोकी होस्टेलको बाहिरी प्यासेजमा धारिलो हतियार प्रहारबाट गम्भीर घाइते अवस्थामा फेला परेका थिए। उनलाई तत्काल उपचारका लागि निजामती कर्मचारी अस्पताल, मिनभवन लगिएको थियो। उपचारकै क्रममा शुक्रबार दिउँसो करिब १२ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाबारे पक्राउ परेका तीनै जनामाथि ज्यानसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। उनीहरूलाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार